|

म्याग्दी : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिबेला राजनीतिक दलका नेताहरू चुनावी दौडधुपमा छन्। विभिन्न दलका नेताहरू आ–आफ्नो पार्टीको पक्षमा जनमत बलियो बनाउन दौडधुप सुरु गरेका हुन्।

सत्ता गठबन्धनका दलहरू, नेकपा एमाले र अन्य दल आफ्नै किसिमले चुनावी अभियानमा लागेका छन्। एमालेले सत्ता गठबन्धनलाई समेत चुनौती दिँदै आएको छ। स्थानीय तहको चुनावी माहोल बनाउन एमाले, कांग्रेस र माओवादीका नेताहरू जिल्ला व्यापी रूपमा हिँडिरहेका छन्।

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका नेताहरू गाउँ–गाउँमा पसिसकेका छन्। तर, मतदाताहरुबाट भने नेता कार्यकर्ताहरुका भन्दा फरक विचार र अभिव्यक्तिहरु प्रकट हुन थालेका छन्।

म्याग्दीका मतदाताहरुले परम्परावादी दल र तिनका उम्मेदवारहरुबाट खासै ठूलो परिवर्तनको अपेक्षा राख्न नसके पनि वैकल्पिक शक्तिको अभावमा तिनै दलहरुका खरावमध्येका कम खराव उम्मेदवारहरुलाई छानेर मत दिन बाध्य भएको बताउन थालेका छन्।

म्याग्दीमा राजनीतिक दलहरुका सक्रिय सदस्य र कुनै एक दल विशेषको राजनीतिक आस्था राख्ने मतदाताको हाराहारीमा नै निष्कृय वा तटस्थ मतदाताहरुको पनि संख्या छ। यस हिसावले हेर्दा तटस्थ मतदाताहरुलाई आफ्नो प्रभावमा नपारीकन कुनै पनि राजनीतिक दलले यहाँ निर्वाचन जित्नसक्ने अवस्था छैन।

यतिबेला बडो गज्जबको राजनीतिक परिदृश्य गाउँघरमा देखिन थालेको छ। एकले अर्कोलाई लल्कार्दै, दुत्कार्दै भेला, सभा गरिरहेका छन्। नेताहरूको यो परिदृश्य हेर्दा उनीहरूमा रहेको राजनीतिक संस्कार प्रष्टरुपमा देखिइरहेको सर्वसाधारण मतदाताहरुले नै वताएका छन्। एकले अर्कोलाई कटु अरोप, तीखो प्रहारमा व्यस्त राजनीतिक दलका नेताहरुका भाषण सुनिसकेपछि जनताले ‘तपाइँहरुले चैँ के गर्नुभयो त?’ भनेर प्रश्न गर्न थालेका छन्।

जनतामा राजनीतिक चेत बढेको जिल्लाका बुद्धिजीविहरुले बताएका छन्। ‘उहिले राणा, शाह र पञ्चायतको पालामा जस्तो जनतालाई रैती ठान्ने दिन अब छैनन्। अबको चुनावमा मतदाता चनाखो बन्नुपर्ने आवश्यकता देखिएको छ। मतदान गर्नु सबैको आ–आफ्नो स्वतन्त्र अधिकार भए पनि आजका जनता धेरै चेतनशील भएका छन्। अब जनताले यो पार्टीमा र ऊ पार्टीमा कसैले भोट हाल भन्दैमा हाल्नेवाला छैनन्।’ म्याग्दी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुखसमेत रहेका कृष्णबहादुर थापाले बताए।

सबै दलहरू आ–आफ्ना घोषणा पत्रका आधारमा दलीय चुनावी प्रतिस्पर्धा गर्ने आँट गर्नुपर्ने बेनी नगरपालिका २ का मतदाता पदमपाणी शर्माले बताए। उनले भने, ‘सबै दलहरु आ–आफ्ना पहिचान र घोषणा पत्रका आधारमा दलीय प्रतिस्पर्धाबाट लड्ने र निर्वाचित हुने विकल्प प्रयोग गर्नु नै उपयुक्त हुन्छ।’

नेपाली कांग्रेसमा आस्थावान म्याग्दीका मतदाताहरुले चुनावी गठवन्धनलाई खासै रुचाएको पाइएको छैन। ‘अघिल्लो चुनावमा गठबन्धन गरेर पछि एकै दल भएका एमाले माओवादीको हालत के भयो? विचार र सिद्धान्तबिनाको एकता लामो समयसम्म टिक्दैन।’ अर्जुन मावि भकुण्डेका भूतपूर्व प्रधानाध्यापक तथा नेपाली कांग्रेसबाट बेनी नगरपालिका २ का वडाअध्यक्षका प्रत्यासी टीकाबहादुर कार्कीले भने।  

म्याग्दीका दुई स्थानीय तहमा स्वतन्त्र उम्मेदवारका रुपमा दुई युवाले उम्मेदवारी घोषणा गरिसकेका छन्। बेनी नगरपालिकाको मेयरमा लामो समयसम्म विदेशमा अध्ययन गरेका बेनी नगरपालिका २ का नीराजन थापा र रघुगंगा गाउँपालिकाको प्रमुखमा स्थानीय सचेत युवा सागर भण्डारीले उम्मेदवारी घोषणा गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.