|

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबले एएफसी कप छनोटको प्रारम्भिक चरणमा श्रीलंकाको सुपर लिग च्याम्पियन ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गर्दैछ।

दशरथ रंगशालामा मंगलबार साँझ ५ बजे सुरू हुने खेलमा दुबै क्लबले जितका लागि मैदानमा उत्रिने बताएका छन्। प्रि-म्याच कन्फ्रेन्समा दुवैले एक अर्कालाई बलियो प्रतिद्वन्द्वी भए पनि जितका लागि नै प्रतिस्पर्धा गर्ने बताए।

गत संस्करणमा क्लब लाइसेन्स नभएका कारण छनोट गुमाएको मच्छिन्द्रले यस पटक भने आफूलाई समूह चरणमा पुर्‍याउने लक्ष्य लिएको छ। प्रशिक्षक प्रवेश कटुवालले विपक्षी टिम बलियो भए पनि जितको उद्देश्यका साथमा मैदानमा उत्रिने बताए।

‘हामीले विपक्षीलाई बलियो रुपमा लिएका छौं‚’ उनले भने‚ ‘हाम्रो लक्ष्य समूह चरण पुग्ने भएकाले हामी सोहीअनुसार प्रदर्शन गर्ने छौं।’

प्रशिक्षक कटुवालले श्रीलंकन टिमको प्रदर्शन हेरेको भन्दै जित निकाल्न सकिने विश्वास ब्यक्त गरे। ‘श्रीलंकाको लिग राम्रो चलिरहेको छैन्,’ उनले भने‚ ‘यद्दपि‚ च्याम्पियन भएर ब्लु स्टार छनोट भएको हो। त्यसैले कमजोर आँकेका छैनौं।’

त्यस्तै कप्तान सुजल श्रेष्ठले पनि टिमको लक्ष्य दोस्रो चरणमा पुग्ने भएकाले सोही अनुसारको प्रदर्शन गर्ने बताए।

श्रीलंकाका प्रशिक्षक राजमान्य डेभासगयामले पनि नेपाली टिमलाई बलियो प्रतिद्वन्द्वीकार रूपमा लिएकाले संयमित भएर मैदान उत्रने बताए।

‘हामिले नेपाली टीमलाई बलियो प्रतिद्वन्दिका रुपमा लिएका छौं‚’ उनले भने‚ ‘सोहीअनुसार नै हामीले राम्रो तयारी गरेका छौं।’ उनले टिमको लक्ष्य जित भएकाले जितकै लागि प्रतिस्पर्धा गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.