'हामी ढाल्दैनौँ, आफैं कुहिएर फतक्क झरोस्'

|
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार तत्काल नढले देश बर्बाद हुने बताएका छन्।

पार्टी निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन बुधबार काठमाडौंमा उद्घाटन गर्दै ओलीले मुलुक आर्थिक संकटमा फस्दै गएकाले सरकार जति दिन रहन्छ देश थप बर्बाद हुने बताएका हुन्।

‘अहिले देशमा लगानीको वातावरण छैन, बैंक पैसा दिन सक्ने अवस्थामा छैन।' ओलीले भने, ‘यो सरकार तुरुन्तै ढलेन भने जति दिन रहन्छ त्यति बढी देशलाई बर्बादीतिर धकेल्छ।’ तर आफूहरु यो सरकार ढाल्न कोशिश नगर्ने ओलीको भनाई छ । 

‘यो गठबन्धन सरकार आफैं कुहिसकेको छ, कुहिएको फल पनि झर्नका लागि मज्जाले कुहिनुपर्छ, यो झर्ने बेलातिर जाँदैछ, समय पर्खिनुपर्छ। मर्न आँटेको मान्छेलाई पनि प्वाक्क हानियो र मर्‍यो भने ज्यान मुद्दा लाग्छ।' ओलीले भने, त्यसैले हामी यो सरकार ढाल्न कोशिश नै गर्दैनौं। ढालेको बात पनि नलागोस्, आफैं कुहिएर फतक्क झरोस्।'

उनले आफूहरु सरकारभन्दा चुनावमा ध्यान दिइरहेको बताए।

'हामी अहिले केही समय सरकार बाहिर छौँ। त्यो बेला पनि काम गर्न आफ्नैले कहाँ दिएका हुन् र! एकातिर प्रचण्ड, अर्कोतिर माधव नेपाल अनि अर्कोतिर झलनाथ।' आफ्नो कार्यकालमा सरकार चलाउन पार्टी भित्रैको अवरोध सम्झँदै ओलीले भने, 'देश विकासको कुरा गर्नासाथ देशभन्दा पहिले मेरो कुरा गर्नुछ यहाँ भनेर एउटा दुई घण्टा कराउँछ। अनि अर्कोले मैले के पाउँछु भनेर दुई घण्टा कराउँछ। यस्तो अवरोधका बीच पनि कसरी विकासको काम अघि बढाइयो होला!'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.