|

हेटौंडा : पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता माविमा शिक्षकले बालिकालाई दुर्व्यवहार गरेको घटना गाउँमा नै मिलाउने प्रयास गरेको पाइएको छ।

३ जना शिक्षकले सोही विद्यालयमा अध्ययनरत बालिकाहरूमाथि गरेको यौन दुर्व्यवहारको घटना गाउँमा नै मिलाउने प्रयास गरेको पाइएको हो। विद्यालयको कक्षा ४ देखि ८ सम्म अध्ययनरत करिब ७५ जना छात्रालाई विद्यालयका ३ जना शिक्षकले आफूहरूलाई गलत नियतले छुने गरेको आरोप लगाउँदै छात्राहरूले मंगलबार विद्यालयमा तोडफोड तथा तालाबन्दीसमेत गरेका थिए।

उनीहरूले वर्षौंदेखि शिक्षकहरूले आफूहरूलाई गलत नियतले संवेदनशील अंगमा छुने गरेको आरोप लगाएका छन्। सोही विषयमा स्थलगत अध्ययन गर्न गएका मकवानपुरका मानव अधिकार तथा बालअधिकारसम्बन्धी संघ संस्थाहरूका अनुसार उक्त घटनालाई गाउँमा नै मिलाउने प्रयास भएको पाइएको छ।

संघसंस्थाहरूले घटनाका विषयमा घटनास्थलमै पुगेर पीडित विद्यार्थीसँग प्रत्यक्ष भेटघाटका क्रममा मेलमिलापको प्रयास भइरहेको पाइएको जनाएका छन्। बुधबार घटनाको स्थलगत अवलोकन गरेर आएपछि ८ वटा संघसंस्थाले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरि घटनाबारे जानकारी गराएका थिए।

‘अहिलेसम्म उजुरी परेको छैन। सबै नाबालिका नै रहेका छन्। नाबालिकाको हकमा अभिभावकले उजुरी दिनुपर्ने हो। अभिभावकले यस विषयलाई खासै महत्व दिएको पाइएन’, माइती नेपाल हेटौंडाकी संयोजक माया लामाले भनिन्। उनले पीडितमाथि राजनीतिकरण हुने सम्भावना देखिएकोसमेत बताइन्।

लामाका अनुसार उक्त घटनालाई पटकपटक गाउँमा नै मिलाउने प्रयास गर्दासमेत असफल भएको पाइएको बताइन्। कक्षा ४ देखि कक्षा ८ सम्मका १५ जना विद्यार्थीले विद्यालयका शिक्षक रुद्रबहादुर विक, हेमबहादुर विक र लोकबहादुर विकले आफूहरूलाई गलत नियतले छुने गरेको भन्दै बालिकाहरूले चैत १४ गते नै विद्यालयमा लिखित निवेदन दिएका थिए।

यसअघि चैत २ गते नै उनीहरूले विद्यालयका प्रधानाध्यापक वसन्त राईलाई घटनाबारे मौखिक जानकारी गराए पनि शिक्षक सेवा आयोगको परीक्षा भन्दै विद्यालय बन्द गरेको विद्यार्थीहरूको आरोप छ। मौखिक जानकारीलाई विद्यालय प्रशासनले गम्भीरतापूर्वक नलिएपछि चैत १२ गते विद्यार्थीहरूले र २० गते अभिभावकले समेत विद्यालयमा उजुरी दिएका थिए।

सोही विषयमा छलफल गर्न मंगलबार राजनीतिक दलसहित बसेको बैठकमा चित्त नबुझेपछि विद्यार्थीहरूले विद्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेका थिए। ‘छात्रामाथि भएको यस किसिमको अमानवीय र जघन्य अपराधविरुद्ध प्रहरी प्रशासनबाट उचित अनुसन्धान गरी पीडित बालिकाहरूको गोपनियता, आत्मसम्मान, मनोसामाजिक अवस्था र संवेदनशीलतालाई ध्यानमा राखेर दोषीले उन्मुक्ति नपाउने गरी हदैसम्मको कारबाहीका माग गर्दछौं’, मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धको सञ्जालका संयोजक आरती पाठकले पत्रकार सम्मेलनमा भनिन्।

सिविन हेल्पलाइन, सेलर्ड, राडो नेपाल, हिमराइट्स, शान्ति फाउण्डेशन, ग्रामीण महिला सेवा केन्द्र, सञ्चारिका समूह नारी सीप सिर्जना केन्द्र हेटौंडाका प्रतिनिधिहरू घटनाको विषयमा जानकारी लिन घटनास्थल पुगेका थिए। स्थलगत अवलोकन गरि हेटौंडा आएका संघसंस्थाहरूले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै अभिभावकहरूले नै घटनाबारे नबोल्न बालबालिकालाई दबाब दिएको आरोप लगाएका छन्।

‘स्थानीय केही सरोकारवालाको धारणा बुझ्दा यस समस्यालाई समाधानको निम्ति स्थानीय स्तरमै मेलमिलापको प्रयास गर्न खोजिनु र अभिभावकले आफ्नै बालबालिकालाई नबोल्न दबाब दिएको प्रत्यक्ष देखिएकाले यो उजुरी दर्ता हुने वा नहुने र दर्ता भएपनि पीडित बालिकाले बयान फेर्ने वा नफेर्ने कुरामा शंका नै रहेको हुँदा हामी सबै सरोकारवालाहरू यसप्रति सचेत रहन आग्रह गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।

यता, मकवानपुर प्रहरीले विद्यालयमा शिक्षकले छात्रामाथि यौन दुर्व्यवहारको घटनामा संलग्न शिक्षकलाई तत्काल पक्राउ गर्न नसकिने जनाएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले घटनाको विषयमा पीडित पक्षबाट लिखित उजुरी नआएका कारण पक्राउ गर्न नसकिएको जनाएका हुन्।

‘उजुरीबिनै पक्राउ गर्न मिल्दैन। लिखित आएपछि अनुसन्धानका लागि हामी नियन्त्रणमा लिन सक्छौं’, उनले भने। प्रहरी उपरीक्षक गुरुङका अनुसार विद्यालयको सुरक्षा प्रहरीले गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.