|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौं शिखर सम्मेलन काठमाडौंमा हुँदैछ।  आइतबारदेखि सुरू सम्मेलनको तयारी पूरा भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य-सचिव एवं कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले जानकारी दिए।

कोरोना महामारीका कारण दुई वटा सम्मेलन भर्चुअल माध्यममा भएको थियो। यस वर्ष भने भौतिक उपस्थितिमै हुन लागेको हो। ज्ञवालीका अनुसार सम्मेलनमा स्वास्थ्य अनुसन्धानकर्ता, जनस्वास्थ्यविद्, जनसंख्याविद्, नीति निर्माणकर्ता तथा बहुक्षेत्रीय विज्ञहरूबीच छलफल हुनेछ। छलफबाट नीति निर्माण गर्न तथा जनस्वास्थ्यका सवालहरूको अन्तरविषयात्मक अनुसन्धानका निष्कर्ष निकालेर सोही अनुरुप अध्ययन अनुसन्धान गरिने उनले बताए। 

यस पटक सम्मेलनमा १५३ वटा अनुसन्धानमूलक कार्यमध्ये ४० वटा प्रस्तुतीकरणका लागि छनोट भएका छन्। पोष्टर प्रस्तुतीकरणका लागि ८७ वटा अब्स्ट्याक्ट समावेश गरिएको सदस्य सचिव ज्ञवालीले जानकारी दिए। सम्मेलनमा ३१ जना राष्ट्रिय र २२ जना अन्तर्राष्ट्रिय विज्ञले प्रस्तुतीकरण दिनेछन्।

पहिलो दिन पूर्वसम्मेलन गरिनेछ। जसमा संघीय संरचनामा स्वास्थ्य प्रणालीको सुदृढीकरण र कोभिड-१९ विषय समावेश छन्। यस अन्तर्गत दृढ  प्रादेशिक तथा स्थानीय स्वास्थ्य प्रणाली, रोगहरूको भार, प्रादेशिक तथा स्थानीय स्वास्थ्य सेवा, शासन र नेतृत्वको अवस्था : अवसर र चुनौती तथा कोभिड महामारीका सिकाइहरू, सहकार्य र सञ्जालद्वारा अनुसन्धानको प्रवद्र्धनका साथै अन्य विषयमा आमन्त्रित विज्ञहरुको गहन छलफल र प्रस्तुतीकरण रहने ज्ञवालीले जानकारी दिए।

सम्मेलनको दोस्रो दिन २८ गते  शिखर सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले गर्ने कार्यक्रम रहेको छ। दोस्रो सत्रमा दुईवटा समानान्तर सत्रहरुमा स्वास्थ्य प्रणाली र नीति अनुसन्धान, बायोमेडिकल, इपिडेमियोलोजिकल र क्लिनिकल अनुसन्धानलगायतका विषयहरूमा विज्ञहरूले प्रस्तुतीकरण साथै बृहत् छलफल हुनेछ।

सम्मेलनको तेस्रो दिनमा विश्वव्यापी स्वास्थ्य र कार्यान्वयन अनुसन्धानबारे छलफल गरिने कार्यक्रम छ। सोही दिन अनुसन्धान आचारसंहिता, औषधि अनुसन्धान, मातृ, नवजात शिशु र बाल स्वास्थ्य र अन्तरविषय अनुसन्धानबारे बृहत् छलफल हुनेछ।

‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवर्द्धन : नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका हुने सम्मेलन चैत २९ गतेसम्म सञ्चालन हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.