|

कञ्चनपुर : राष्ट्रिय कृषि गणनाका लागि कञ्चनपुरमा ७५ जना गणक र १९ जना सुपरीवेक्षक खटिने भएका छन्। गणक र सुपरीवेक्षकलाई तालिम दिइएको छ।

वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म कृषि गणना हुन लागेको हो। जिल्लाका २ सय १२ स्थानलाई गणना क्षेत्रका रुपमा चयन गरिएको कृषि गणना कार्यालय कञ्चनपुरका प्रमुख गोकर्णदेव न्यौपाने बताए।

कृषि गणनाअन्तर्गत कृषक परिवारको संख्या, कृषि चलन, कृषि कामदार, कित्ताको विवरण र सिँचाइ, कित्ताअनुसार भू‒उपयोग, कित्ताअनुसार खेती गरिएका अन्नबाली, कोसेबाली, दलहन, कन्दमुल, तेलबाली, नगदेबाली, मसलाबाली, अन्य तरकारी र फलफूलको विवरण संकलन गरिनेछ।

बीउबिजन विषादी तथा मलखादको प्रयोग, पाल्तु पशुपक्षीको उमेर अनुसारको संख्या, कृषिमा प्रयोग हुने भवन र संरचना, कृषि औजार, पोखरीको विवरण र माछापालनसम्बन्धी जानकारी गणनमा समेटिनेछ।

मौरीपालन, च्याउ र फूल खेती, रेशम खेती, कृषि ऋण, बीमा र अनुदान, कृषिमा वातावरणीय प्रभाव, दैवी प्रकोप, खाद्य पर्याप्तता, महिला र पुरूषको नाममा रहेको कृषि जग्गा र परिवारका अन्य आर्थिक क्रियाकलापसम्बन्धी विवरणसमेत गणनामा समावेश गरिएको छ।

विसं २०१८ देखि हरेक १०/१० वर्षमा कृषि गणना हुँदै आएको छ। गणनामा सबै घरपरिवारको गणना नभइ स्थानीय तहको प्रतिनिधित्व हुने तथा पूर्ण विवरण आउने गरी तथ्यांकीय विधिबाट छानिएका कृषक घरपरिवारको मात्र पूर्ण गणना हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.