|

विराटनगर : आगामी वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि सत्तारुढ पाँच दलीय गठबन्धनले  केन्द्रबाट नै विराटनगरसहित ६ महानगरको भागबण्डा लगाएको छ।  तर, यता विराटनगरमा भने केन्द्रले गरेको निर्णय प्रति  कांग्रेसले असन्तुष्टि जनाएको छ।

सत्ता गठबन्धनमा रहेको  दलका शीर्ष नेताहरुले बुधबार विराटनगर महानगरपालिकाको मेयर–उपमेयरको सिट बाँडफाँड गर्ने क्रममा कांग्रेसले प्रमुख र जसपाले उपप्रमुख पाउने सहमति भएको  छ।

यसअघि कांग्रेसले विराटनगरमा गठबन्धन नगरी एक्लै चुनावी मैदानमा लड्ने निर्णय गरेको थियो।

नेपाली कांग्रेसको संस्थापक कोइराला परिवारको गृहजिल्ला त्यसमा पनि मजदुर आन्दोलन देखि राणा विरोधी आन्दोलनको उद्‍गम स्थल मानिने विराटनगरलाई नेता कार्यकर्ताहरु कांग्रेसको राजनीति विरासतको जग मान्ने गर्दछन्।

कोइराला परिवारका राजनीतिक उत्तराधिकारी डा. शेखर कोइरालाको क्षेत्रमा गठबन्धनको आवश्यकता नपर्ने कांग्रेसका नेता कार्यकर्ताले दाबी गर्दै आइरहेका छन्।

त्यसो त ०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले नै प्रमुख र उपप्रमुखमा जितेका थिए।

आधिकारिक जानकारी नआएसम्म गठबन्धन मान्दैनौँ

विराटनगरमा कांग्रेसले मेयर र उपमेयर दुवैमा र जसपाले मेयरमा दावी गर्दै आएका कारण यसअघि गठबन्धनको लय मिलाउन सकस परिरहेको थियो।

तर, केन्द्रले लगाएको भागबण्डा पछि कुरा मिले पनि गठबन्धनको  विषयमा केन्द्रले गरेको निर्णय आधिकारिक रुपमा जानकारी नभएको कांग्रेस नगर सभापति दीपक चापागाईँ बताउँछन्।

गठबन्धनको विषयमा आधिकारिक जानकारी नआएको बताउदै उनले भने,‘गठबन्धनमा आधिकारिक रुपमा हाम्रो पक्षका महामन्त्रीले समर्थन जनाए जस्तो लाग्दैन,  उहाँहरुले बहिष्कार नै गरेर हिँड्नुभएको छ।’

उनले  केन्द्रिय कार्य समितिले विराटनगर महानगर कांग्रेसलाई गठबन्धनमा गएको भन्ने विषयमा पत्र नदिएसम्म गठबन्धनलाई नमान्ने जिकिर गरे।

मिडियामा आएका, फेसबुकमा आएको प्रचारलाई आधिकारिक धारणा नमान्ने भन्दै उनले भने,‘गठबन्धनको विषयलाई पहिले पनि स्विकारेका थिएनौँ र अहिले पनि स्वीकार्ने छैनौँ।’

यता जसपाका केन्द्रिय सदस्य तथा प्रदेश सरकारका स्वास्थ्यमन्त्री जयराम यादवले केन्द्रको निर्णय प्रति कुनै असन्तुष्टि नरहेको बताए।

महानगर र उपमहानगरको हकमा केन्द्रले गरेका निर्णयहरुलाई  पार्टी पंक्तिले मान्नुपर्छ र नगरपालिका र अन्य पालिकाको हकमा जिल्लास्तरका नेताहरुले छलफल गरिरहेको उनले जानकारी दिए।

 कांग्रेसको अडानले कसलाई हुन्छ फाईदा ?

गठबन्धन भित्रको आन्तरिक खटपटले एमालेलाई पनि फाइदा हुन सक्ने सुनसरी शान्ति झोडाका रामचन्द्र बोहोरा बताउँछन्।

उनी सेवा निवृत्त शिक्षक हुन्। ‘पाँच दलीय गठबन्धनको भागबन्डाले निम्त्याएको किचलोले एमालेलाई फाइदा हुन सक्छ।’ उनी भन्छन्,‘एमालेलाई सहानुभूति मत जनताले दिन सक्छन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.