|

काठमाडौं : छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको ज्यान गएको छ। रूपन्देही, रौतहट, सुनसरी, नवलपरासी र बर्दियामा भएका सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

रूपन्देहीको सियारी गाउँपालिका २ कुट्टामा बुधबार बेलुका मोटरसाइकल लहरीमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ। मोटरसाइकल चालक स्थानीय २५ वर्षीय रामनिवास बेलदार र पछाडी सवार ५० वर्षीय रामायण पासीको मृत्यु भएको हो। 

गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको हो। बेथरी(बेलबास सडकखण्डमा लु ७४ प ४४७९ नम्बरको मोटरसाइकल, हिजो बेलुकी सवा ८ बजे भारतिय नम्बरको लहरीमा ठोकिएको हो। लहरी चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बेथरीले जनाएको छ।

रौतहटको राजपुर नगरपालिका ५ गोलाचोकमा बुधबार साँझ मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।  स्थानीय ८० वर्षीया पचिया देवीको ज्यान गएको हो। 

ना३६प २८२८ नम्बरको मोटरसाइकलको ठक्करबाट बुधबार साँझ साढे ५ बजे, गम्भीर घाइते भएकी बृद्धाको वीरगञ्जस्थित हेल्थ केयर अस्पतालमा बेलुकी पौने ९ बजे मृत्यु भएको हो। 

दुर्घटना लगत्तै मोटरसाइकल छाडेर फरार भएका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय राजपुरले जनाएको छ।

यस्तै सुनसरीको रामधुनी २ मा बुधबार बेलुकी गुडिरहेको मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु भएको छ। रामधुनी ८ का ४३ वर्षीय धुव्रकुमार चौधरीको ज्यान गएको हो।

को १७प ३२४५ नम्बरको मोटरसाइकलमा सवार उनी बुधबार बेलुकी पौने ८ बजे, हसनपुर नहरको पुलबाट तल खसेका थिए। घटनाबारे जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय पकली र अस्थायी प्रहरी पोष्ट झुम्काबाट खटेको टोलीले चौधरीको शव गएराति साढे ९ बजे, नहरबाट निकालेका थिए। 

शव पोष्टमार्टका लागि धरानको घोपा स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।

नवलपरासी सुस्ता पश्चिम बर्दघाट नगरपालिका १३ धनेवामा गएराति मोटरसाइकल दुर्घटना हुदा चालकको मृत्यु भएको छ। भारतिय नागरिक ५३ वर्षीय रवीन्द्रनाथ पाठकको मृत्यु भएको हो। 

गम्भीर घाइते भएका उनको उपचारका क्रममा चौपत्तास्थित शहीद स्मृति सामुदायिक अस्पतालमा मृत्यु भएको हो। राति सवा ८ बजे भारतिय नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ।

बर्दियाको बासगढी नगरपालिका ७ गौरीपारामा  ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। स्थानीय लक्ष्मी नारायण यादवको १ वर्षीया छोरी शिवानीजीको घटनास्थलमै मृत्यु भएको हो। बुधबार अपराह्न साढे ५ बजे आफ्नै घर अगाडि नम्बर नखुलेको ट्याक्टरले पछाडी सार्ने क्रममा बालिकालाई ठक्कर दिएको हो। 

दुर्घटनाबारे प्रहरीलाई खबर नगरी शव सदगत गर्दै गरेका मृतकका बुबा र ट्याक्टर चालक मनोज यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जलाउँदै  शव समेत प्रहरीले बरामद गरी पोष्टमार्टमका लागि गुलरियास्थित बर्दिया अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.