|

डडेल्धुरा : स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा नेकपा एमाले डडेल्धुरामा असन्तुष्टि बढेको छ। आइतबार नेकपा एमालेले नेपाली कांग्रेस बिपीसँग तालमेल गर्ने निर्णय गरेपछि पार्टीमा असन्तुष्टि बढेको हो।

एमालेका नेता तथा अमरगढी नगरपालिकाका मेयर विशेश्वरप्रसाद ओझा (विपीन) ले आइतबार साँझ पत्रकार सम्मेलन गरी असन्तुष्टि व्यक्त गरेका छन्। तालमेल गर्ने निर्णयमा हस्ताक्षर भएको केही समयमै मेयर ओझाले असन्तुष्टि पोखेका हुन्। उनीसहित अन्य केही नेता सहमतिको विरुद्धमा उभिएका छन्।

एमालेका प्रदेश कमिटी सदस्यसमेत रहेका नगरप्रमुख ओझाले एमालेले कांग्रेस (बिपी)लाई अमरगढी नगरपालिकाको मेयर पद बिक्री गरेको आरोप लगाए। यसले सारा एमालेको चित्त दुखेको पनि बताए।

‘एकाएक आज एक समूहसँग सहमति गरेर नगर प्रमुख पद बिक्री गर्ने काम भयो। यसले म मात्रै होइन। सारा एमालेका कार्यकर्ताको चित्त दुखेको छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘जसले २०औँ वर्षदेखि आफ्नो भविष्य देखेर यो पार्टीमा जीवन समर्पित गरेका छन्, यो निर्णयले ती साथीहरूको भावनामा ठेस पुगेको छ।’

कुनै पनि छलफल र परामर्शबिना नै गरेको यो सहमति मान्य नहुने उनले बताए। उनले अमरगढी नगरप्रमुख छाड्न नसक्ने बताएका छन्। ‘हामीले अमरगढीमा नगरप्रमुख पाउनुपर्ने धेरै आधार छन्। यहाँ प्रमुख छाड्न सकिँदैन। अन्य पालिकाका हकमा सहमति गरेर जान सकिएला,’ उनले भने, ‘हामीले निर्वाचन जित्ने प्रशस्त सम्भावना हुँदाहुँदै पनि के आधारमा त्यो सूमह (मल्ल) लाई दिन सहमत भए, म अनभिज्ञ छु।’ उनले अमरगढीको नगरप्रमुख पद मल्ल समूहलाई दिने सहमतिप्रति कडा र सशक्त ढंगले लाग्ने पनि प्रतिबद्धता व्यक्त गरे।

आइतबार दिउँसो एमालेले नेपाली कांग्रेस (बिपी)सँग जिल्लाका सातै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको थियो। कांग्रेस (बिपी)मा नेपाली कांग्रस पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले मिलेको छ। कांग्रेस (बिपी)मा प्रवेश गरेको मल्ल समूहसँग एमाले गठबन्धन हो।

सहमतिअनुसार जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा कांग्रेस (बिपी) बाट हरिप्रसाद भट्ट नगरप्रमुख र एमालेका यज्ञराज अवस्थी उपप्रमुखमा चुनाव उठ्ने भएका छन्।

परशुराम नगरपालिकामा भने प्रमुखमा एमालेका केशव बोहरा र उपप्रमुख कांग्रेस (बिपी) का उम्मेदवारलाई दिने सहमति भएको छ। यस्तै, आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एमालेलाई दिने निर्णय भएको छ।

भागेश्वर गाउँपालिकाको अध्यक्ष भने एमालेलाई र उपाध्यक्ष कांग्रेस (बिपी)लाई दिइने भएको छ। अजयमेरु गाउँपालिको अध्यक्षमा एमालेका पदम पाल र कांग्रेस (बिपी) बाट उपाध्यक्ष राजेन्द्र ऐर, नवदुर्गाको अध्यक्षमा कांग्रेस (बिपी) बाट गोकुल शाही, उपाध्यक्षमा एमालेबाट लड्ने सहमति भएको छ।

उता गन्यापधुरामा  कांग्रेस (बिपी)बाट सुरेन्द्र माली अध्यक्षमा र एमालेबाट इन्द्रबहादुर महरा उपाध्यक्षमा उम्मेदवार हुने सहमतिमा उल्लेख छ। निर्णयमा नेकपा एमालेका जिल्ला अध्यक्ष प्रकाश साउद र नेपाली कांग्रेस (बिपी)का जिल्ला सभापति तिलक हमालले हस्ताक्षर गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.