|

पर्वत  : भागवण्डा नमिलेकै कारण टुट्न सक्ने अवस्थासम्म पुगेको जिल्लाको पाँचदलीय गठबन्धन तीन दलमा सीमित भएको छ।

गठबन्धनमा रहेका ठूला दलहरूले भागवण्डामा अवहेलना गरेका कारण आफूहरू गठबन्धनमा रहनुको औचित्य नभएको भन्दै जनमोर्चाले मनोनयनको पहिलो दिन आइतबार नै आफ्नो तर्फबाट उम्मेदवारी दर्ता गराएको छ। 

सोमबार जनता समाजवादी पाटी (जसपा) ले पनि आफ्ना उम्मेदवारलाई उठाउने तयारी गरेको छ। जसपाको तर्फबाट कुश्मा नगरपालिकाको प्रमुखमा ढाकाराम गौतम र उपप्रमुखमा इन्दिरा अधिकारीलाई उठाउने तयारी भइरहेको जसपा स्रोतले बताएको छ। 

जसपाबाटै कुश्मा नगरपालिका–९ को वडाध्यक्षमा मोहदत्त अधिकारी, वडा नं. ११ मा सुनिल पौडेल तथा वडा नं. १४ मा डिलबहादुर नेपालीलाई उठाउने तयारी भएको छ। मोदी गाउँपालिकाको प्रमुखमा डम्मर क्षेत्री र उपप्रमुखमा राधा कुँवरलाई उठाउने निर्णय भएको जसपाकी जिल्ला अध्यक्ष देवी लामिछानेले बताइन्।

आइतबार राष्ट्रिय जनमोर्चाबाट फलेवास नगरपालिकामा इन्द्रकान्त शर्माले प्रमुखमा र सरिता भुसालले उपप्रमुखमा उम्मेदवारी दिइसकेका छन्। वडा नं. ६ देवीस्थानमा राष्ट्रिय जनमोर्चाबाट अध्यक्षसहित पाँचै जनाको उम्मेदवारी दर्ता भएको छ भने कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा पनि राष्ट्रिय जनमोर्चाको तर्फबाट अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।

तीन दलबीच यस्तो बाँडफाँड

पछिल्लो समयमा दुई दल बाहिरिए पनि वार्ताबाट नेपाली काँग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले स्थानीय तहको बाँडफाँड टुङ्गो लगाएका छन्। दुई नगरपालिका र पाँच गाउँपालिका गरी सात स्थानीय तह रहेको पर्वतमा ६ स्थानीय तहको प्रमुख कांग्रेसका उम्मेदवारले पाउनेगरी सहमति भएको कांग्रेस जिल्ला कार्यसमिति पर्वतका प्रवक्ता अच्युत तिवारीले बताए।

उनका अनुसार कुश्मा र फलेवास नगरपालिकाको प्रमुखमा कांग्रेसले र उपप्रमुखमा माओवादीले उम्मेदवारी दिने सहमति भएको छ। यस्तै मोदी गाउँपालिकामा माओवादीले प्रमुख र कांग्रेसले उपप्रमुख, महाशिला गाउँपालिकामा कांग्रेसले प्रमुख र एकीकृत समाजवादीले उपप्रमुख, बिहादी गाउँपालिकामा कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुख पद पाउने भएका छन्। पैयुँ गाउँपालिकामा भने प्रमुख र उपप्रमुख दुवै पद कांग्रेसले नै पाउने भएको छ।

पदको भागवण्डा मिलेको भए पनि सबै उम्मेदवारको छनोट भने भइसकेको छैन। पार्टीले भाग पाएको भए पनि पार्टीबाट कसलाई टिकट दिने भन्नेमा दलहरूबीच अझै पनि अलमल रहेको छ। उम्मेदवारका लागि सिफारिसमा परेका नेताहरू टिकट आफ्नो पोल्टामा पार्न भ्याइ नभ्याइको अवस्थामा छन्।

अहिलेसम्मको अवस्थामा सदरमुकाम समेत रहेको कुश्मा नगरपालिकाको उपप्रमुखका लागि नेकपा माओवादीका कुश्मा नगर कमिटीका अध्यक्ष शंकर गिरी पक्का भएका छन्। प्रमुख पदका लागि कांग्रेसले जिल्ला सभापति युवराज जोशी, जिल्ला सदस्य शिव शर्मा अधिकारी र महिला संघकी जिल्ला सभापति मुना शर्मा लामिछानेको नाम सिफारिस गरेको छ। 

फलेवास नगरपालिकाको उपप्रमुखमा माओवादीबाट नगर कमिटी अध्यक्ष शोभा क्षेत्रीले टिकट पाएकी छिन्। काँग्रेसबाट गंगाधर तिवारी, रेखा गुरुङ र मिलन सुवेदीको नाम सिफारिस भएको छ।

यस्तै जलजला गाउँपालिकाको उपप्रमुखमा माओवादीका दीपक आचार्य, मोदी गाउँपालिकाको प्रमुखमा माओवादीका केन्द्रीय सदस्यसमेत रहेका गुप्त हमालले टिकट पाएका छन्। बाँकी रहेका स्थानीय तहको प्रमुख र उपप्रमुखको टिकटबारे दलहरूले आन्तरिक तयारी र छलफल गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.