कांग्रेस छाडेर मल्ल कांग्रेस (बिपी)मा प्रवेश गरेका थिए

|

डडेल्धुरा : नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान पार्टी सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ललाई कारबाही गरेको छ। मंगलबार कांग्रेस प्रदेशसभा सदस्य मल्लले पार्टीको विधानविपरीत कार्य गरेको भन्दै सदस्यसमेत नरहने गरी हटाइएको हो।

सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्लले भने नेपाली का‌ंग्रेस छोडेर नेपाली कांग्रेस (बिपी)मा प्रवेश गरेका थिए। डडेल्धुरामा २०७८ फागुन ४ गते नेपाली कांग्रेस (बिपी)को संगठन निर्माण भएको थियो।  

‘नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्यसमेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ’‚ मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।

​मल्लले विधानविपरीत के के काम गरे भनेर कांग्रेसले खुलाउन सकेको छैन। डडेल्धुरामा मल्ल समूह नेपाली कांग्रेस (बिपी)मा प्रवेश गर्दै एमालेसँग चुनावी तालमेल गरेको छ। एमाले र कांग्रेस (बिपी)ले तालमेल गर्दै जिल्लाका सातै स्थानीय तहमा उम्मेदवारी दिइसकेका छन्।

डडेल्धुरामा सातै स्थानीय तहमा बिपी कांग्रेसले नेकपा एमालेसँग गठबन्धन गरेको छ। अमरगढी नगरपालिकामा नगरप्रमुख कांग्रेस (बिपी)बाट हरिप्रसाद भट्ट‚ अजयमेरु गाउँपालिकाका कांग्रेस (बिपी)बाट उपाध्यक्ष राजेन्द्र ऐर, नवदुर्गाका अध्यक्षमा कांग्रेस(बिपी)बाट गोकुल शाही, गन्यापधुरामा कांग्रेस (बिपी) बाट सुरेन्द्र मालीले अध्यक्षमा उम्मेदवारी दिएका छन्। परशुराम नगरपालिकाका उपप्रमुख र भागेश्वर गाउँपालिकाका उपाध्यक्ष कांग्रेस (बिपी)लाई दिने सहमति भएको छ। आलिताल गाउँपालिकाका भने अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेलाई सहयोग गर्ने बताइएको छ।

कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशनप्रति मल्ल समूह असन्तुष्ट थियो। देउवा समूहले जिल्ला अधिवेशन अवैधानिक ढंगले गरेको आरोप उनीहरूको थियो। उनीहरू ११ दिनसम्म अनशन बसेर प्रदर्शन गरेका थिए। त्यसपछि केन्द्रबाट कांग्रेसका नेताहरू अर्जुनरसिंह केसी, डा.शेखर कोइराला र गुरुराज घिमिरेले डडेल्धुरा पुगेरै माग सुनुवाइ गर्ने आश्वासन दिँदै मल्ल समूहलाई अनशन स्थगित गर्न लगाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.