|

म्याग्दी : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच अन्तिम समयमा आज (शुक्रबार) चुनावी तालमेल भएको छ।

मनोनयन दर्तासम्म नगरको मेयर र उपमेयरमा एक्लाएक्लै उम्मेदवारी दिएका दलहरुमा उम्मेदवारी फिर्ताको समयमा मात्र चुनावी तालमेल गर्ने सहमति भएको हो। पाँचदलीय गठबन्धनमा सहमति नभए पनि अन्तिम चरणमा कांग्रेस र माओवादीबीच मेयर र उपमेयरमा चुनावी तालमेलको सहमति भएको हो।

सहमतिअनुसार कांग्रेसका उम्मेदवार चिरञ्जीवी शर्मालाई समर्थन गर्दै माओवादीका मेयरका उम्मेदवार धनलाल जैसीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। शुक्रबार मनोनयन फिर्ताको अन्तिम समयमा माओवादीका मेयरका उम्मेदवार जैसी र कांग्रेसका उपमेयरका उम्मेदवार अमृतदेवी बानियाँको मनोनयन फिर्ता गराइएको थियो।

त्यसैगरि माओवादी केन्द्रका उपमेयरकी उम्मेदवार ज्योति लामिछाने पौडेललाई समर्थन गर्दै कांग्रेसका उपमेयरका उम्मेदवार अमृतदेवी बानियाँको उम्मेदवारी फिर्ता गराइएको छ। बेनी नगरपालिकामा कांग्रेस र माओवादीले वडा नम्बर २, ६, ७, ८ र ९ वडामा समेत चुनावी तालमेल गरेका छन्।

यसैबीच सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) म्याग्दीमा चुनावी गठबन्धनबाट अलग भएको छ। कांग्रेस र माओवादीले चुनावी तालमेलमा बेवास्ता गरेको कारण गठबन्धनबाट अलग हुनुको साथै जिल्लाको सबै स्थानीय तहमा पार्टीबाट दिइएको उम्मेदवारीसमेत सबै फिर्ता गरिएको पार्टीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.