|

म्याग्दी : स्थानीय तहको निर्वाचन आउन अब केवल ९ दिन बाँकी छ। मतदाताको भोट आफ्नो पोल्टामा पार्नका लागि म्याग्दीका राजनीतिक दलहरु भोट माग्दै जनताका घरदैलो र खेतबारीमा पुगेका छन्।

गाउँघरमा किसानहरुलाई खेती लगाउने र थन्क्याउने चटारो छ। मतदातालाई घरमा नभेटेपछि खेतबारीमा नै पुगेका उम्मेदवार र राजनीतिक कार्यकर्ताहरूले किसानका खेतमा गहुँ काटिदिने, मकै गोडिदिने लगायतका कामहरुमा सघाए जस्तो पनि गर्छन्।

यस पटकको निर्वाचनका शैली पनि विगतका निर्वाचनहरूको भन्दा फरक छ। चर्को माइकिङ र गाउँ शहरमा असरल्ल देखिने पोस्टर अहिले कतै देखिएका छैनन्।

विगतका चुनावहरूमा जस्तो भद्दा प्रचारप्रसार भने यसपटक रोकिएको अनुभूति म्याग्दीवासीले गरेका छन्।

विगतका चुनावहरूमा यतिबेला म्याग्दीको सदरमुकाम बेनीबजार लगायत ग्रामीण भेगका सार्वजनिक स्थल, पाटी पौवादेखि सडकका भित्ता र पुलहरूमा उम्मेदवारका ब्यानर तथा होर्डिङ बोर्डले भरिभराउ भइसक्थे।

यस पटक भने निर्वाचन आयोगले लागू गरेको कठोर आचारसंहिताका कारण सदरमुकाम र गाउँका सार्वजनिक स्थलहरु थप कुरुप हुनबाट अहिलेसम्म जोगिएका छन्।

विगतका चुनावमा चौतारी, घरका भित्ता, पर्खाल, सार्वजनिक स्थल लगायतका ठाउँहरु चुनावी प्रचारप्रसारका सामग्रीहरूले आकाशै छोप्ने गरी रङ्गीचङ्गी भइसकेका हुन्थे। तर, अहिले अवस्था विल्कुलै फरक छ।

बैशाख १० गते उम्मेदवारहरूको मनोनयन दर्ता भएपछि भने प्रचारप्रसारका सामग्रीहरू छाप्ने अर्डर आए पनि विगतका चुनावहरूमा जस्तो भ्याइनभ्याइको अवस्था भने नरहेको छापाखाना तथा अफसेट प्रेसका व्यापारीहरू बताउँछन्।

यसले निर्वाचन आयोगले लागू गरेको आचारसंहिताकाे राम्रैसँग पालना भइरहेको पुष्टि गरेको छ।

उम्मेदवारहरू आजकल पोस्टर र ब्यानरभन्दा पनि सामाजिक सञ्जालबाट आफ्ना एजेण्डा सुनाउन सक्रिय देखिएका छन्।

यसले चुनावको प्रचार शैली फेरिँदै गएको अनुभूति गराएको छ। उम्मेदवारहरूले सामाजिक संजालको व्यापकरुपमा प्रयोग गरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.