|

काठमाडाैं : पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रमा संरचनागत समस्या रहेको बताएका छन्।

मंगलबार काठमाडाैंमा भएको एक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालको आर्थिक वृद्धिदरमा आयात बढी भएकाले लगातार रुपमा ६, ७ र ८ प्रतिशतले आर्थिक वृद्धिदर हुँदा समेत व्यापार घाटा हुने समस्या वर्षौंसम्म भइरहने बताए।

डा. खतिवडाले अब उद्योग क्षेत्रको विकास गरेर निर्यात हुने वस्तु निर्यात गर्नेगरी लगानी गर्नु पर्ने अनि मात्रै व्यापार घाटा कम गर्न सकिने बताए। उनले पछिल्लो समय धेरै लगानी जलविद्युतमा भएको बताए।

जलविद्युतमा धेरै ठूलो लगानी विस्तार गरेर बुढीगण्डकी जस्ता चार वटा आयोजनाहरु एकै चोटी निर्माण गरेर वर्षको डेढ खर्बदेखि २ खर्ब ऋण रिपेमेन्ट गर्न थाल्यौँ भने नेपाल श्रीलंकाको बाटोमा जाने उनकाे भनाई छ।

उनले अब निर्यात मूलक उत्पादन उद्योगमा लगानी लगाउनु पर्ने आवश्यकता रहेको समेत बताए। पछिल्लो समय मुलुकको अर्थतन्त्रमा समस्या देखा पर्नुमा तीन वटा निकायबीच समन्वयको अभाव भएको उनको आरोप छ।

उनले अर्थ, वाणिज्य मन्त्रालय एकापट्टि र राष्ट्र बैंक अर्को बाटोमा हिँडेकाले संकट आएको जिकिर गरे। मुलुकलाई आत्मनिर्भर बनाउनको लागि सरकारले चामल नभएर राइस भनेर आयात हुने कनिका नै रोक्नु पर्ने उनकाे भनाई छ।

यस्तै, नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले पछिल्लो समय रुस र युक्रेनको युद्धका कारणले मुलुकको अर्थतन्त्रमा थप चुनौती देखिएको बताए। उनले युद्धको कारण पेट्रोलियम पदार्थको मूल्य निरन्तर रुपमा बढ्दै गएकाले थप चुनौती बढेको बताए।

विश्वमा नै ३ प्रतिशतले आयात बढ्ने देखिएकाले विश्व अर्थतन्त्रमा नै चुनौती देखिएको उनकाे भनाई छ।

उनले राष्ट्रिय तथ्याङ्क विभागको तथ्यांक उल्लेख गर्दै नेपालमा आर्थिक गतिविधिहरु चलायमान भइरहेको बताए। प्रवक्ता भट्टले पछिल्लो समय ९० प्रतिशत उद्योगहरु पूर्णरुपमा सञ्चालनमा आएको भन्दै अर्थतन्त्र पुनरुत्थान भइरहे पनि वर्तमान चुनौती सामना गर्न बलियो क्षेत्र खोजेर व्यवस्थापन गर्नु समस्या रहेको बताए।

वार्षिक विन्दुगत आधारमा १९ प्रतिशत मात्रै कर्जा विस्तार हुने अनुमान भए पनि अहिले २२ प्रतिशतले कर्जा विस्तार भएको उनले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.