|

काठमाडाैं  : महिला तर्फको विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी छैठाैँ आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको छ।

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा सम्पन्न खेलमा नेपाल पुलिसले  साविक विजेता न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई बिहीबार सोझो सेटमा पराजित गर्दै जित निकाल्दा आफ्नो तेस्रो खेलमा पनि जितलाई निरन्तरता दिएको हो।

चोटका कारण कोर्ट बाहिर रहेकी प्रतिभा माली बिनाको न्यू डायमन्ड पुलिसविरुद्ध सोझो सेटमा पराजित भएको हो। स्पष्ट जित निकाल्ने क्रममा पुलिसले न्यू डायमण्ड माथि २५–११, २५–१७, २५–१५ को स्कोर निकालेको थियो। जितसँगै पुलिसले आफूले खेलेको तीन खेल मध्ये सबै तीनै खेलमा जित हात पारेको छ।

यस सँगै पुलिसको लिगमा ९ अंक भएको छ। पुलिस शीर्ष स्थानमा रहेको छ। उता पराजित न्यू डायमण्डको यो लगातार तेस्रो हार हो। न्यू डायमण्डकाे अंक तालिकामा १ अंक नै रहेको छ। यस अघि भएको खेलमा न्यू डायमन्ड एभरेस्ट भलिबल क्लबसँग ३–२ को सेटमा पराजित हुँदा १ अंकको खाता खोलेको थियो।

प्रतियोगिता अन्तर्गत बिहीवार नै सम्पन्न महिला तर्फको दिनको पहिलो खेलमा अर्को विभागीय टोली एपीएफले एभरेष्ट भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्‍यो। एपीएफले एभरेष्ट भलिबल क्लबलाई २५–१३, २५–१०, १९–२५, २५–१९ ले पराजित गरेको हो।

एपीएफको तीन खेलबाट ६ अंक भएको छ। पहिलो खेलमा एपीएफ पुलिससँग पराजित भएको थियो भने दोस्रो खेलमा एपीएफले आर्मीमाथि ३–१ को सेटमा जित निकालेको थियो।

प्रतियोगितामा शुक्रबार पनि महिला तर्फ एक र पुरुष तर्फ तीन गरी कूल चार खेल हुनेछन्। महिला तर्फको प्रतिस्पर्धामा न्यू डायमण्ड स्पोर्ट्स क्लबले एपीएफको सामना गर्नेछ भने पुरुष तर्फ हेल्प नेपाल र गलकोट स्पोर्ट्स क्लब, दोस्रो खेल त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब तथा तेस्रो खेल एपीएफ र ढोरपाटन स्पोर्ट्स क्लबबीच हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.