|

धनकुटा : वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनको माहौल तातिएको छ। निर्वाचनमा कसले जित्ला भन्ने चर्चा यतिवेला चियापसलदेखि शहर, गल्ली र ग्रामीण बस्तीसम्म पुगेको छ। ७ वटा स्थानीय तह रहेको धनकुटामा मुख्यतः गठबन्धन सहित जम्मा ६ वटा राजनीतिक दल र केही स्वतन्त्रले उम्मेदवारी दिएका छन्।

धनकुटाको महालक्ष्मी नगरपालिकाका प्रमुख पदमा गठबन्धनबाट नेपाली कांग्रेसका नगरसभापति ध्रुवराज राय र नेकपा एमालेका प्रदेश कमिटी सदस्य दीपक बुढाथोकी, राप्रपाका चेतनाथ चापागाईँ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गुरुप्रसाद लिम्बू र विष्णु पौडेल स्वतन्त्रबाट चुनावी मैदानमा छन्।

त्यसमध्ये महालक्ष्मी नगरपालिकामा मुख्य प्रतिस्पर्धी दुई पक्ष रहेका छन्। सत्ता गठबन्धनबाट कांग्रेस नगरसभापति राय र एमालेबाट प्रदेश सदस्य बुढाथोकी रहेका छन्। रायलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले समर्थन गरेको छ। बुढाथोकी एमालेका तर्फबाट मात्रै उम्मेदवार बनेका छन्।

राया र बुढाथोकी दुवै पूर्वजनप्रतिनिधि हुन्। गत निर्वाचनमा महालक्ष्मी-२ मा राय वडाध्यक्षमा निर्वाचित भएका थिए। बुढाथोकी २०४९ र २०५४ सालमा तत्कालीन चानुवा गाविसका अध्यक्ष निर्वाचित भएका थिए। गत स्थानीय तह निर्वाचनमा महालक्ष्मी नगरपालिकामा एमालेका पर्शुराम नेपालले कांग्रेसका अग्निप्रसाद पौडेललाई पराजित गरेका थिए।

गत निर्वाचनमा पराजित भएको कांग्रेसलाई विजयी गराउन राया लागि परेका छन् भने एमालेको साख जोगाउन बुढाथोकीको कसरत रहेको छ। गत स्थानीय तहको निर्वाचनमा धनकुटा जिल्लाका सबै स्थानीय तहमा नेकपा एमालेले जित हासिल गरेको थियो।

योपटक भने गठबन्धनका कारण एमालेलाई सहज नहुन सक्ने अनुमान धेरैको छ।

एमालेपछि जिल्लामा बलियो शक्ति कांग्रेससँग अन्य दलको सहकार्यका कारण पनि बुढाथोकी कमजोर हुन सक्ने आँकलन गर्न थालिएको छ। अझ एमाले विभाजनले पनि केही समस्या हुनसक्ने बताइएको छ।

महालक्ष्मी नगरपालिकामा एमाले विभाजनपछि पूर्व जिल्ला विकास समिति सभापति धर्मराज पौडेल सहित खगेन्द्र सुवेदी, लालबहादुर महतरा लगायतका नेताहरू एकीकृत समाजवादीमा लागेका कारणले पनि एमाले केही कमजोर हुनसक्ने बताइन्छ।

गत स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको नतिजाले एमालेको पल्ला भारी देखाए पनि कांग्रेससँग गठबन्धनमा रहेको र एमाले बलियो शक्ति तथा आ–आफ्नै चुनावी रणनीतिका कारणले नतिजा पूर्वानुमान गर्न कठिन छ।

राया र बुढाथोकी दुवै उम्मेदवार महालक्ष्मी नगरपालिकामा चर्चित अनुहार हुन्। वैशाख १२ गते उम्मेदवारी दर्ता गरेपछि राया र बुढाथोकी कार्यकर्ता सहित अहिले आ-आफ्नो पक्षमा मत बटुल्न घरदैलो कार्यक्रममा व्यस्त छन्। उमेदवारहरूले आफू विजयी भए महालक्ष्मीलाई विकासका कामलाई प्राथमिकता दिने घोषणा गर्दै हिँडिरहेका छन्। उनीहरूले आफूलाई भोट दिए सडक, खानेपानी, बिजुली र रोजगारमूलक कामको आश्वासन दिइरहेका छन्।

के छ विगतको समीक्षा ?

२०७४ सालको स्थानीय तहको निर्वाचनमा महालक्ष्मी नगरपालिकामा एमालेका पर्शुराम नेपालले ४ हजार ८५७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका अग्निप्रसाद पौडेलले ३ हजार १५६ मत पाएमा थिए। माओवादी केन्द्रका राम नेपालले १ हजार ७४६ मत ल्याएका थिए। त्यो वेला नेपाली कांग्रेसले राप्रपासँग तालमेल गरेर उम्मेदवार उठाएको थियो।

यो स्थानीय तह निर्वाचनमा एमालेले प्रमुखमा बुढाथोकीलाई अघि सार्दा उपप्रमुखमा भने पुन मन्जु कार्कीलाई दोहोर्‍याएको छ। गठबन्धनबाट भने प्रमुखमा नेपाली कांग्रेसका नगरसभापति राय र उपप्रमुखमा भने माओवादी केन्द्रबाट प्रेम खड्का रहेका छन्।

२०७४ मा एमालेले कांग्रेसलाई १ हजार ७०१ मत अन्तरले पराजित गरेको थियो। एमालेले ४ हजार ८५७ मत प्राप्त गर्दा कांग्रेसले ३ हजार १५६ मत पाएको थियो। कांग्रेसको मत राप्रपाको समेत रहेको थियो। अब माओवादी केन्द्रले पाएको १ हजार ७४६ मत जोड्दा गठबन्धनको मत ४९०२ हुन्छ। जुन मत एमालेको भन्दा ४५ ले बढी हो। एमालेले पाएको ४ हजार ८५७ मत अहिले फुटेर गएको एकीकृत समाजवादीको समेत हो।

कस्ता छन् उम्मेदवार ?

ध्रुवराज राया कांग्रेस धनकुटाका युवा नेताका रूपमा परिचित छन्। २०३३ सालमा जन्मेका रायको ६ वर्षको उमेरमा आमा गुमाएको र हजुरआमाको शरण हुर्केको बताउँछन्। अति विपन्न परिवारको सन्तान भएको कारणले बाल्यकालमा धेरै दुःख पाएका थिए। २०४९ नेविसंघको विद्यालय कमिटी अध्यक्ष हुँदै २०५१ सालमा कांग्रेसको  क्रियाशील सदस्य भएका थिए। परिवारमा दुःख भएकै कारण २०५६ मा ६ महिना, २०५८ मा सिंगापुर गएकोमा विमानस्थलबाट फर्केको र २०६० सालमा कतार गएर साढे ७ वर्ष काम गरेको रायले बताए।

त्यसपछि राजनीतिमा पुनः सक्रिय भएका राय कांग्रेसको १३ औँ महाधिवेशनमा तत्कालीन मारेककटहरे गाविसका सभापति निर्वाचित भएका राय २०७४ को स्थानीय तह निर्वाचनमा महालक्ष्मी नगरपालिका- २ को वडाध्यक्षमा निर्वाचित भएका थिए। उनले वडाध्यक्ष हुँदा जनताको पक्षमा भएको स्रोतसाधन प्रयोग गरेर काम गरेका दाबी गर्छन्। राया २०७८ मा कांग्रेसको १४ औँ महाधिवेशनबाट महालक्ष्मी नगर सभापतिमा निर्वाचित भएका थिए।

२०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन चानुवा गाविस अध्यक्ष निर्वाचित भएका दीपक बुढाथोकी एमालेका पुराना नेता हुन्। पञ्चायतकालमा कम्युनिष्ट विरोधी सरकार हुँदा पनि एमालेको संगठन विस्तारमा क्रियाशील बुढाथोकी पार्टीभित्र हक्की स्वभावका मानिन्छन्।

२०४२ सालमा विद्यालयमा १९ वर्षकै उमेरमा संगठनको नेतृत्व सम्हालेका उनी जिल्ला तहका नेताहरूको आँखामा परेका थिए। २०४६ सालको आन्दोलनमा गाउँबाट नेतृत्व गर्दै उनले जिल्लासम्मको आन्दोलनको मोर्चा सम्हाले। बुढाथोकी ३५ वर्षदेखि एमालेको राजनीतिमा रहेको बताउँछन्।

गाउँ, इलाका, निर्वाचन क्षेत्र र जिल्ला हुँदै हाल नेकपा एमाले प्रदेश १ कमिटीको सदस्य रहेका बुढाथोकी पार्टीमा दृढ र सामाजिक निष्ठावान व्यक्तिका रूपमा परिचित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.