|

पर्वत : जिल्ला प्रशासन कार्यालय मुस्ताङले वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै मदिरा बिक्री वितरणमा रोक लगाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालका अनुसार निर्वाचनको मौन अवधि सुरु हुने दिन वैशाख २७ गते राती १२ बजेदेखि मत परिणाम सार्वजनिक नहुने बेलासम्मको लागि जिल्लाभर नै मदिराको बिक्री वितरण, ओसारपसार र सेवन गर्न नदिने निर्णय भएको हो।

शनिवार बसेको जिल्ला निर्वाचन सुरक्षा समिति तथा सर्वपक्षीय बैठकबाट निर्णय गरेर रोक लगाइएको हो। प्रशासनले निकालेको आदेशमा मौन अवधिभर पालना गर्नुपर्ने निर्वाचन आचारसंहिता सबै राजनीतिक दलका कार्यकर्ता, स्वतन्त्र उम्मेदवार र सरोकारवाला सबै पक्षहरूले पालना गर्नुपर्ने तथा मौन अवधि सुरु हुने वैशाख २७ गते  राती नौ बजेदेखि बिहान पाँच बजेसम्मको समयमा समूहगत रूपमा आवतजावत गर्न नपाउने भनेको छ।

यस्तै, मत परिणाम आएपछि मनाइने विजय जुलुसको क्रममा रुट र समय परस्पर नजुध्ने गरी र्‍याली व्यवस्थित गर्ने तथा समय र रुटको बारेमा स्थानीय प्रहरी र निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराएर मात्रै विजय जुलुस निकाल्न पाइने भनिएको छ।

तर रातको समयमा भने विजय जुलुस निकाल्न नपाउने मुस्ताङ प्रशासनले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.