|

कञ्चनपुर : कृष्णपुर नगरपालिका ६ बन्जरियाका श्यानीदेवी चौधरी घरधन्दाबाट फुर्सद भएको समयमा दुना टपरी बनाउँछिन्। ती दुनाटपरी नजिकको गुलरी बजार र कैलालीको धनगढी बजारमा सजिलै बिक्री हुन्छ। यसबाट उनले महिनामा १० देखि १५ हजार रुपैयाँ आम्दानी गर्छिन्।

दुना टपरी विशेष गरी सालको पात र मालुको पातको बन्छ। सालको पातको दुना टपरी बढी दिन टिक्ने भएकाले यसको माग बढी छ। पात ल्याउन स्थानीय महाकाली सामुदायिक वनले सहज बनाइदिएको छ। 

दुना टपरी विशेषगरी धार्मिक कार्यमै बढी प्रयोग हुन्छ। यसैगरी थारु समुदायको परम्परागत परिकार खान पनि दुना टपरी प्रयोग हुन्छ। मन्दिर, बौद्ध, गुम्बाबाट दुना टपरीको बढी माग आउँछ। ‘पहिले एउटा टपरी तीन रुपैयाँमा बिक्री हुन्थ्यो। अहिले बढेर पाँच रुपैयाँ पुगेको छ’, उनले भनिन्, 'जति धेरै बनाउन सक्यो त्यति बढी आम्दानी हुन्छ।’ बजारमा धेरै माग रहे पनि पुर्‍याउन नसकेको उनले बताइन्।

दुना टपरी बेचेर आएको पैसा दैनिक गर्जो टार्न  खर्च हुने उनी बताउँछिन्।  ‘दुना टपरी बिक्री गरेर आएको पैसाले दैनिक उपभोग्य वस्तु मात्र होइन छोराछोरीको पढाइमा थोरबहुत मद्दत पुग्छ’, उनले भनिन्।

सामुदायिक वनले उपभोक्तालाई आय आर्जनमा लगाउन दुना टपरी बनाउने तालिम पनि दिने गरेको छ। त्यहाँ प्रशिक्षक छिन्। उनी अहिले २० महिलालाई सीप सिकाइरहेकी छिन्। 

सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशी बजारमा माग बढेकाले गएकाले मेसिनको व्यवस्था गरी व्यावसायिक रूपमा दुना टपरी उत्पादन गरी बजारमा बिक्री गर्ने योजना रहेको बताउँछन्। विपन्न उपभोक्ताको सहभागिता गराई आर्थिक रूपमा सबल पार्ने योजना रहेको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.