|

जाजरकोट : कर्णालीका अधिकांश जिल्लामा मतदातालाई प्रभावित बनाउन पैसा बाँडिरहेको सूचना सार्वजनिक भएलगत्तै उम्मेदवारहरूले एकले अर्काको निगरानी गर्न थालेका छन्।

उम्मेदवारले आ-आफ्ना युवालाई विपक्षी उम्मेदवारको निगरानी गर्न लगाउन थालेका छन्। टिम बनाएर टोलैपिच्छे गस्तीदेखि नाकाहरूमा युवा परिचालन गरिएको छ। जाजरकोट, रुकुम पश्चिम, डोल्पा, हुम्ला, सुर्खेत, दैलेख र कालीकोटमा युवाहरूलाई परिचालन गरी एकले अर्कालाई निगरानी गरिरहेका छन्।

यस्तो निगरानीको नाममा द्वन्द्व बढ्ने आशंका मतदाताले गरेका छन्। गाउँगाउँमा मतदाता शिक्षाभन्दा पनि पैसा बाँड्ने र अर्कालाई रोक्ने काममा युवा प्रयोग भएको पाइएको छ। आफू पैसा बाँड्न अर्कालाई निगरानी बढाइरहेको दलहरूबीच आरोप छ।

निषेधको राजनीतिले कहीँ कतै नपुग्ने दलहरूको बीचमा आरोप, प्रत्यारोप शुरु भएको छ। सुर्खेतको गुर्भाकोटमा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार पक्राउ परेलगत्तै झन् निगरानी बढेको छ। रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा समेत पैसा बाँड्ने विषयमा झडप हुँदा उम्मेदवार नै घाइते भएका छन्। जाजरकोट नलगाड-१० मा पैसा बाँड्ने विषयमा विवाद हुँदा हिजो मात्र झडप भएको थियो।

सदरमुकाम तथा बजार क्षेत्रमा मौन अवधिको पालना भए पनि गाउँमा अझै भोट माग्ने र कार्यक्रम गर्ने क्रम जारी रहेको छ। डोल्पाको मुड्केचुलामा नेकपा एमालेका उम्मेदवार लंक रोकायको टोली अहिले पनि घरदैलो गरिरहेको तस्वीर सार्वजनिक भएको छ। गाउँमा निर्वाचन आचारसंहिताको विषयमा कुनै जानकारी नभएको पाइएको छ।

खुलेआम राजनीतिक कार्यक्रम जारी रहेको नलगाड-८ का जनक खत्रीले बताए। प्रहरी, प्रशासनदेखि धेरै टाढा भएका कारण उम्मेदवारले जे पनि गर्न पाएको उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.