|

झापा : झापाका १५ वटै पालिकामा मतगणना भइरहेको छ। पछिल्लो मतगणनाको प्रारम्भिक मत परिणामअनुसार १५ वटा पालिकाको प्रमुख पदमध्ये नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनले ४, नेपाली काँग्रेस, राप्रपा र माओवादी केन्द्रको गठबन्धनले १, काँग्रेस र एमाले गठबन्धनले १, काँग्रेसले २, एमालेले ५ र राप्रपाले १ पालिकामा अग्रता कायम राखेका छन्।

पालिकाहरूको उपप्रमुखमा एमाले ९, काँग्रेस र एमाले गठबन्धनले १, काँग्रेस र माओवादीको गठबन्धनले ३, काँग्रेस र राप्रपाले १/१ पालिकामा अग्रता लिएका छन्।

काँग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट भद्रपुर नगरपालिको मेयरमा उठेका गणेश पोखरेलले अग्रता कायम राखेका छन्। पोखरेल काँग्रेसबाट उठेका हुन्। गठबन्धनबाट उपमेयरमा उठेका माओवादीका शिवकुमार राजभण्डारीले पनि अग्रता कायम राखेका छन्।

बुद्धशान्तिमा गठबन्धनका उम्मेदवार काँग्रेसका मनोज प्रसाईँ अध्यक्षमा अगाडि देखिएका छन्। उपाध्यक्षमा एमालेका भवानीप्रसाद खतिवडा अगाडि छन्। कमल गाउँपालिकामा गठबन्धनका उम्मेदवार काँग्रेसका हुकुमसिंह राई अध्यक्षमा अगाडि छन्। उपाध्यक्षमा पर्शुराम सुवेदी अगाडि देखिएका छन्। सुवेदी माओवादीका उम्मेदवार हुन्।

बाह्रदशी गाउँपालिकामा गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका खड्गप्रसाद राजवंशी अध्यक्षमा अगाडि छन्। उपाध्यक्षमा एमालेका शान्ता देवी सिवाकोटी अगाडि छिन्।

दमक नगरपालिकामा काँग्रेस, राप्रपा र माओवादी गठबन्धनबाट उम्मेदवार बनेका रामकुमार थापा अगाडि छन्। उपमेयरमा गठबन्धनबाटै उम्मेदवार बनेकी काँग्रेसकी रेगिना भट्टराई अगाडि छिन्।

कचनकवल गाउँपालिकामा काँग्रेस र एमाले गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी अध्यक्षमा अगाडि छन्। उपाध्यक्षमा एमालेका नवराज भट्टराई अगाडि छन्। अर्जुनधारा नगरपालिकामा एमालेका दुवै उम्मेदवार अगाडि छन्। गठबन्धनका उम्मेदवारलाई पछि पार्दै मेयरमा एमालेका बलदेव सिंह गोम्देन तामाङ छन् भने उपमेयरमा एमालेकी खड्गमाया पराजुली अगाडि छिन्।

बिर्तामोड नगरपालिकामा पनि गठबन्धनका उम्मेदवारलाई पछि पार्दै एमालेकी पवित्रादेवी महतारा अगाडि छिन्। उपमेयरमा एमालेका नगेन्द्रप्रसाद सङ्ग्रौला अगाडि छन्। शिवसताक्षी नगरपालिकामा मेयर र उपमेयरमा एमालेका उम्मेदवार अगाडि छन्। गठबन्धनका उम्मेदवारलाई पछि पार्दै मेयरमा एमालेका मेगाहाङ्ग थोप्रा र उपमेयरमा एमालेकी नरमाया कार्की अगाडि छिन्।

गौरादह नगरपालिकामा पनि गठबन्धनका उम्मेदवार एमालेलाई पछ्याइरहेका छन्। मेयरमा एमालेका छत्रपति सुवेदी र उपमेयरमा एमालेकी जलबर्षा राजवंशी अगाडि छिन्। मेचीनगरमा पनि गठबन्धनलाई एमालेले पछि पारेको पछिल्लो मत परिणामले देखाएको छ। मेचीनगरको मेयरमा एमालेका गोपालचन्द्र बुढाथोकी र उपमेयरमा एमालेकी मिनाकुमारी पोखरेल अगाडि छिन्।

झापा गाउँपालिकामा काँग्रेसका उम्मेदवार अगाडि देखिएका छन्। झापामा काँग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको हो। अध्यक्षमा काँग्रेसका उम्मेदवार जयनारायण साह र उपाध्यक्षमा काँग्रेसकी अन्जुदेवी थपलिया अगाडि छिन्। हल्दिबारी गाउँपालिकामा राप्रपाका उम्मेदवार अगाडि देखिएका छन्। राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनका भाइ रवीन्द्र लिङदेन अध्यक्षमा उठेका छन्। लिङदेनसँगै उपाध्यक्षमा पनि राप्रपाकी लक्ष्मीदेवी मैनाली अगाडि छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.