|

कञ्चनपुर ः स्थानीय तहको निर्वाचनको मौका छोपेर कृष्णपुर नगरपालिका १ स्थित नवदुर्गा महिला सामुदायिक वनमा बनाइएका घर टहरा आज हटाइएको छ।

सामुदायिक वनको जग्गा अतिक्रमण गरी बनाइएका २२ वटा घर टहरा डिभिजन वन कार्यालय र सव डिभिजन वन कार्यालय बाणीले हटाएको हो।

‘स्थानीय तहको निर्वाचन भैरहेको मौका छोप्दै सामुदायिक वनका घर टहरा निर्माण गरिएको पाइयो’ डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले भने, ‘वन कार्यालयको टोली र सामुदायिक वनका उपभोक्ताको सहयोगमा अतिक्रमण हटाएका छौँ।’

उनका अनुसार वन क्षेत्रमा भौतिक संरचना निर्माण गर्ने कार्य सँगै आर्थिक र भौतिक सहयोग गर्ने कार्य समेत वन ऐन २०७६ बमोजिम कसुर ठहर हुन्छ।

वन क्षेत्रमा भौतिक संरचना निर्माण गर्ने र गराउने कार्यमा संलग्नलाई वन ऐन अन्तर्गत कारवाही हुने उनले बताए।

यसअघि समेत सामुदायिक वन क्षेत्रमा पटक पटक अतिक्रमण गरी घर टहरा बनाउने कार्य हुदै आएको छ। वन कार्यालय र स्थानीय उपभोक्ताले अतिक्रमण हटाउँदै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.