|

काठमाडौं : रुसका लागि प्रस्तावित राजदूत मिलन तुलाधरले आफूले दुई मुलुकबीच राजनीतिक सम्बन्ध बढाउन पहल गर्ने कार्ययोजना प्रस्तुत गरेका छन्। 

संसदीय सुनुवाइ समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा आफ्नो योग्यता, क्षमता र कार्ययोजना पेश गर्दै प्रस्तावित राजदूत तुलाधरले रुससँग राजनीतिक सम्बन्ध बढाउन मुख्य जोड दिने बताएका हुन्। उनले भारत र चीन दुवैसँग अत्यन्तै निकट सम्बन्ध कायम राख्न सफल रुससँग नेपालले पनि राजनीतिक सम्बन्ध बढाउँदा चीन र भारतसँगको सम्बन्धलाई अझै सन्तुलित बनाउन सघाउ पुग्ने पनि समितिमा उल्लेख गरे।

नेपालले भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाएर जानुको विकल्प नभएको भन्दै उनले सम्बन्ध अझ सुदृढ बनाउन रुससँगको सम्बन्ध जरुरी रहेको स्मरण गराए। उनले रुसी पर्यटक भित्र्याउन र नेपालको हस्तकलाका वस्तु निर्यात गरेर व्यापारमा योगदान पुर्‍याउन पनि आफू लागिपर्ने दाबी गरे।

उनले भने, ‘रुस एउटा यस्तो देश हो, जसले चीन र भारत दुवैसँग अत्यन्त निकट रहेर रुसले काम गरिराखेको छ। चीन र भारतलाई सन्तुलन नराखि हामी अघि जानै सक्दैनौं। त्यसो गर्दा हामीले रुससँग पनि सम्बन्ध राम्रो राख्नुपर्ने जरुरी देखिन्छ।’ 

बैठकमा स्पेनका लागि प्रस्तावित राजदूत शर्मिला पराजुली ढकालले आफूले राजदूतको रुपमा कुनै पनि गलत काम नगर्ने प्रतिबद्धता व्यक्त गरिन्। ओमानमा राजदूतको जिम्मेवारी लिँदा आफूले कुनै गल्ती नगरेको दाबी गर्दै उनले स्पेनमा पनि राजदूतको रुपमा कुनै पनि गल्ती नगर्ने बताइन्।

उनले देश र जनताप्रति उत्तरदायी भएर लिइएको राजदूतको जिम्मेवारीलाई आफूले दुरुपयोग नगर्ने बताइन्। उनले भनिन्, ‘अब हाम्रो फोकस भनेको हाई स्किल वर्कर हुनुपर्छ भन्ने नै हो। ओमानमा नेपालबाट डाक्टरहरू जान थालिसकेका छन्।’

प्रस्तावित राजदूत ढकालले हाई स्किल वर्कर व्यवस्थापनको काममा आफूले जोड दिने योजना पनि समितिमा पेश गरिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.