काठमाडौं र विराटनगरमा गठबन्धनका उम्मेदवारसँग फराकिलो मतान्तर

|

काठमाडौं : वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ। मतगणना भइरहेका ६ महानगरपालिकामा सबैको ध्यान केन्द्रित भएको छ। ललितपुर, भरतपुर, विराटनगर, पोखरा र वीरगञ्ज महानगरमा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ। तर काठमाडौंको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह हावी भएका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा बीचको पाँच दलीय गठबन्धनसहित एमालेविरुद्ध मैदानमा उत्रिएका छन्। भलै एमालेले पनि चितवनमा राप्रपा र राप्रपा नेपालसँग तालमेल गरेको छ। 

काठमाडौंबाहेक पाँच दलीय गठबन्धनबाट प्रमुख पदमा गठबन्धनकै साझा उम्मेदवारको अग्रता कायमै भएपनि उपप्रमुखमा भने सोचेअनुरुप परिणाम आएको छैन। काठमाडौं, ललितपुर, विराटनगर, पोखरा महानगरको उपप्रमुखमा गठबन्धनका उम्मेदवार एमालेभन्दा पछाडि छन्। भरतपुर र वीरगञ्ज महानगरमा भने प्रमुख र उपप्रमुख दुवैमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ। 

सोचेअनुरुप मत परिणाम प्राप्त गर्न नसकेपछि गठबन्धनकै दलभित्रका नेताहरुले असन्तुष्टि व्यक्त गर्न थालिसकेका छन्। बुधबार मात्रै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले गठबन्धनमा आफूहरुलाई हेपेको भन्दै समीक्षा गर्ने सार्वजनिक रुपमा राखिसकेका छन्। 

हालसम्मको मत परिणामअनुसार गठबन्धनबाट कांग्रेस पहिलो दल बनेको छ। एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल बनेको छ। एकीकृत समाजवादीले भने सोचेजस्तो परिणाम ल्याउन सकेको छैन। समाजवादीले मात्रै नभएर जसपासहित मधेश केन्द्रित दलहरूको नतिजा पनि उत्साहजनक छैन। 

काठमाडौं 

काठमाडौं महानगरको प्रमुखमा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंह मैदानमा छिन्। ६१ हजार २ सय २६ मतगणना गर्दा सिर्जनाले ११ हजार ४ सय ४३ मत प्राप्त गरेकी छन्। एमालेका केशव स्थापितले १२ हजार ३ सय ४४ मत ल्याएका छन्।

तर गठबन्धन र एमालेलाई निकै पछाडि पार्दै स्वतन्त्र उम्मेदवार बालेन शाह २३ हजार १ सय ९५ मत ल्याएर अगाडि छन्। गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी सिंह तेस्रो स्थानमा छिन्। 

प्रमुखमा स्वतन्त्र उम्मेदवार हावी हुँदा उपप्रमुखमा भने एमालेकी सुनिता डङ्गोल अगाडि छिन्। उनले २३ हजार १७ मत प्राप्त गर्दा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ७ हजार ३ सय ७३ मत मात्रै प्राप्त गरेका छन्। प्रमुखमा स्वतन्त्र हावी हुँदा उपप्रमुखमा भने एमालेका उम्मेदवार जित्ने सुनिश्चित देखिन्छ।  

ललितपुर 

ललितपुर महानगरमा गठबन्धनको तर्फबाट प्रमुखमा कांग्रेसका चिरिबाबु महर्जन अगाडि छन्। उनले १७ हजार २ सय १० मत ल्याउँदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले ८ हजार ६ सय ८८ मत मात्रै प्राप्त गरेका छन्। 

तर उपप्रमुखमा एमालेकी मन्जली शाक्य अगाडि छिन्। उनले ८ हजार ४ सय ४० मत ल्याउँदा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ६ हजार ५ सय ८३ मत ल्याएका छन्। बज्राचार्यले ललितपुरमा कांग्रेसले धोका दिएको आरोप लगाएका छन् भने प्रमुखका उम्मेदवार महर्जनले यो आरोप अस्वीकार गरेका छन्।

पोखरा  

पोखरा महानगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले प्रतिद्वन्द्वीसँग मतान्तर बढाएका छन्। जारी मतगणनाको पछिल्लो विवरण अनुसार उनी १९ हजार ६१५ मतसहित अग्रस्थानमा छन्।

नेकपा एमालेका कृष्ण थापाले १७ हजार ५१२ ल्याएका छन्। यस्तै राप्रपाका शंकर खरालले एक हजार ९६२ मत प्राप्त गरेका छन्। उपप्रमुखमा भने एमालेकी मञ्जुदेवी गुरुङले २० हजार २ मत ल्याउँदा गठबन्धनबाट कोपिला रानाभाटले १९ हजार ७७४ मत ल्याएकी छिन्। पोखराको उपप्रमुखमा पनि गठबन्धन विरुद्ध एमालेको अग्रता कायमै छ। 

विराटनगर 

विराटनगर महानगरपालिका प्रमुखमा पनि गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका नागेश कोइराला अगाडि छन्। उनले हालसम्म २० हजार ६३ मत ल्याउँदा एमालेका सागर थापाले १५ हजार ४६ मत ल्याएका छन्। 

तर, उपप्रमुखमा भने यहाँ पनि एमालेकी शिल्पा निराला कार्की अगाडि छिन् । उनले १७ हजार ३८७ मत ल्याएकी छन्। गठबन्धनको तर्फबाट उपप्रमुख उम्मेदवार जसपाका अमरेन्द्र यादवले १० हजार २२५ मत मात्रै ल्याएका छन्। यादव जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्।

भरतपुर 

चितवनको भरतपुर महानगरपालिकाको ४१ हजार ४ सय १४ गणना गर्दा गठबन्धनको तर्फबाट माओवादीकी रेनु दाहाल फराकिलो मतान्तरले अगाडि छिन्। रेनुले १५ हजार ७ सय ४७ मत ल्याउँदा एमालेका विजय सुवेदीले १२ हजार ६ सय १९  मत ल्याएका छन्। गठबन्धन विरुद्धका बागी उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ५ सय १३ मत ल्याएका छन्। 

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १८ हजार २४० मत ल्याउँदा राप्रपाकी हिमला गुरुले  १० हजार १३६ मत ल्याएकी छन्। भरतपुरमा एमालेले पाँच दलीय गठबन्धन विरुद्ध राप्रपा र राप्रपा नेपालसँग तालमेल गरेको छ। 

वीरगन्ज 

वीरगन्ज महानगरपालिका गठबन्धनको तर्फबाट जसपाका राजेशमान सिंहको अग्रता कायमै छ। उनले १६ हजार ११३ मत ल्याउँदा एमालेका विजय कुमार सरावगीले ८ हजार २०५ मत ल्याएका छन्। 

उपप्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसका इम्तियाज आलमले ११ हजार ४६३ मत ल्याएका छन्।  लोसपाका पुरुषोत्तमलाल झाले २ हजार २७३ मत ल्याएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.