अहिलेको नीति तथा कार्यक्रम सारहीन छ : विष्णु पौडेल

|

काठमाडौं : नेकपा(एमाले)का उपाध्यक्ष तथा पूर्व-अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले मुलुकको विद्यमान समस्याको समाधान गर्न नसक्ने दाबी गरेका छन्। 

बुधबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले प्रस्तुत गरेको आ.व.२०७९/८० को नीति कार्यक्रम इतिहासकै नालायक र सारहीन भएको टिप्पणी गरेका हुन्।

नीति तथा कार्यक्रमले मुलुकको आजका समस्याहरु चिन्न नसकेको र समाधान दिन नसकेको उल्लेख गरे। नीति तथा कार्यक्रममा कुनै दृष्टिकोण नभएको उल्लेख गर्दै बालुवा चुसेजस्तो भएको बताए। 

उनले भने, ‘गठबन्धन जस्तो छ, नीति कार्यक्रम पनि त्यस्तै छ। यो इतिहासकै  सबैभन्दा नालायक, सारहीन, गन्तव्य, दिशाबिहिन, मुलुकका आजका समस्या चिन्न नसकेको र समाधान दिन नसकेको, बालुवा चुसेजस्तो निरस छ यो। यसमा कुनै दृष्टिकोण छैन। कुनै गन्तव्य छैन। यसले मुलुकका आजका समस्या चिनेको छैन। समाधान दिने यसमा कुनै दृष्टिकोण छैन। समयको अपव्यय मात्रै हो यो।’

सरकारले अवलम्वन गरेका नीति तथा निर्णयहरूका कारण मुलुकमा भयानक संकट आइपर्न लागेको बताए। आर्थिक संकटको बारेमा सरकार मौन रहेको समेत बताए। विगतमा सकारले गरेका राम्रा कामहरूलाई यस सरकारले निरन्तरता नदिइ नीति तथा कार्यक्रम पूर्वाग्रही रूपमा ल्याएको पनि बताए। 

‘आजका आर्थिक संकटको कारणको बारेमा यो सरकार पस्नै चाहँदैन। किनभने यो सरकारकै कारणले गर्दा, यसले अवलम्वन गरेका नीतिका कारणले गर्दा, यसले गरेका निर्णयहरूका कारणले गर्दा मुलुक आर्थिक रुपमा यो भयानक संकटको सम्मुखमा आइपुगेको छ। तर त्यसप्रति यसले चुप्पी साँधेको छ। मौनता गर्दैको छ’ उनले भने, ‘यसमा मुलुकको अर्थतन्त्र सबै लयमा छ। ठीकठाक छ भनेजस्तो गर्‍या छ। यो नीति कार्यक्रम पूर्वाग्रही पनि छ। सरकार निरन्तरतामा चल्ने, बुझिने चिज हो । हिजोका राम्रा कामहरूलाई तिनको निरन्तरतामा सरकार अगाडी बढ्नुपर्ने हो। तर हिजोका राम्रा कामहरूलाई यसले निरन्तरता दिन चाहेको छैन।’

नीति तथा कार्यक्रमले विगतमा अगाडी बढाइएका राष्ट्रिय गौरवका आयोजनाहरुका प्रभावकारी कार्यान्वयनमा कुनै चासो र चिन्ता व्यक्त नभएको उनको भनाइ छ। राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका आयोजनाहरुलाई अगाडी बढाउने सन्दर्भमा पनि सरकार पूर्वाग्रही बनेको आरोप लगाए। 

स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित हुन नसकेको उल्लेख गर्दै उनले निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न भयो भनेर जनतालाई गुमराह गर्ने कोशिस भएको बताए। 

अब गठबन्धनको ओरालो यात्रा सुरु हुने दाबी गर्दै आगामी निर्वाचनमा गठबन्धनको पटाक्षेप हुने उनले बताए। आगामी निर्वाचन पछि नेकपा(एमाले)को नेतृत्वमा सरकार बन्ने कुरालाई कसैले रोक्न नसक्ने बताए। 

‘यो गठबन्धनको पटाक्षेप आउने निर्वाचनमा हुनेवाला छ। गठबन्धनले जे गेन गर्न सक्ने हो, त्यो गरिसक्यो। अब यसको ओरालो यात्रा सुरु हुन्छ। र आउने निर्वाचनमा गठबन्धनको पटाक्षेप हुन्छ। म तपाईहरुसँगै फेरी दाबी गरेर भन्छु, आउने निर्वाचनमा नेकपा(एमाले)को नेतृत्वमा सरकार बन्ने कुरा कसैले रोक्न सक्दैन’ उनले भने, ‘निर्वाचन परिणामका हिसाबले, निर्वाचित भएका पदाधिकारी सदस्य संख्याको हिसाबले एमाले दोस्रो भएको होला, जनमतको हिसाबले, संगठनात्मक शक्तिको हिसाबले एमालेलाई चुनौती दिने तागत कसैसँग छैन। एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने हैसियत नै कसैसँग छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.