|

युरोपियन क्लब फुटबलको सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिताको उपाधिका रूपमा हेरिने च्याम्पियन्स लिग फुटबलको फाइनल शनिबार राति पेरिसमा हुँदैछ। 

इंग्लिस जाइन्ट लिभरपुल सातौँपटक युरोपियन च्याम्पियनस लिगको उपाधि दौडमा रहँदा स्पेनिस जाइन्ट रियल म्याड्रिड १४ औं पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ।

योर्गेन क्लोपको लिभरपुलले जारी सिजन महत्त्वपूर्ण उपाधि जित्यो तर उसले कीर्तिमानी सिजनका सबै चार उपाधि जित्ने लक्ष्यमा भने म्यानचेस्टर सिटी बाधक बन्यो। १ अंकले प्रिमियर लिग गुमाएको लिभरपुल सिजनको प्रतिष्ठित च्याम्पियन्स लिग जित्दै आफ्नो बलियो वर्तमानमा सिजन अन्त्य गर्न चाहन्छ। क्लोपको लिभरपुलले एफ ए कप, कार्वाओ कप जितिसकेकाले अब च्याम्पियन्स लिग जित्दै २०२१–०२२ को सिजनको सुखद् अन्त्य गर्ने लक्ष्य राख्दा रियलको चुनौतीले लिभरपुलको ‘वेग’ नरोक्ला भन्न सकिन्न। 

त्यसो त १३ पटकको च्याम्पियन रियल म्याड्रिड इटालियन बोस कार्लो एन्सेलोटीको सरप्राइज नतिजाका कारण लिभरपुललाई झट्का दिने दाउमा हुनेछ। एनसोलोटी चौथोपटक म्यानेजरका रूपमा च्याम्पियन्स लिग जित्दै कीर्तिमान रच्ने ध्यानमा छन्। उनले एसी मिलान (२००२–०३, २००६–०७) र रियल म्याड्रिड (२०१३–०१४) ‌लाई उपाधि दिलाउँदै युरोपियन ग्लोरी आफ्नो नाममा पारेका थिए।

पछिल्ला पाँच सिजनमा तेस्रो फाइनल खेल्न मैदान उत्रिँदै गर्दा लिभरपुल पछिल्ला वर्षमा कति उत्कृष्ट खेलिरहेको छ भन्ने प्रमाणित हुन्छ। गत हप्ता सिटीसँगको साँगुरो हारले घरेलु लिग गुमाएको पीडा भुलाउन उसले च्याम्पियन्स लिगलाई प्रतिष्ठा बनाएको छ। ‘हामी राम्रो मुडमा छौँ।  स्वस्थ तरिकाले सोचिरहेका छौँ। त्यसैले च्याम्पियन्स लिगको फाइनलमा पटक–पटक पुगेका छौँ, क्लोप भन्छन्, ‘पाँच वर्षमा तीन फाइनल खेल्नु आफैँमा असाधारण उपलब्धि हो। यो अत्यन्तै कठिन र साँच्चिकै विशेष पनि हो। त्यसैले यसलाई शतप्रतिशत आफ्नो बनाउने प्रयास गर्ने छौँ।’

अर्कोतिर रियल बोस एन्सेलोटीले ३५ औँ ला लिगा उपाधि जित्दै गर्दा शीर्ष पाँच युरोपियन मुख्य प्रतियोगिताको उपाधि जित्ने एक्लो प्रशिक्षक बनेका थिए। त्यसैले एन्सोलोटी पछिल्लो रियलको फर्मलाई अत्याधिक विश्वास गरिरहेका छन्। उनी भन्छन् ‘दुई शीर्ष टिम एक–अर्काविरुद्ध भिड्दा एकले अन्त्यमा आफ्नो पक्षमा नतिजा पार्नै पर्छ। त्यसैले यो बलियो भिडन्तमा रियल त्यो एउटा टिम बन्न चाहन्छ, जसले अन्तिममा नतिजा आफ्नो पक्षमा बनाएको होस्।’

मानेविरुद्ध बेन्जामा

त्यसो त यो खेललाई वर्ष खेलाडीको दौडमा पनि महत्त्वपूर्ण मानिएको छ। लिभरपुलका सेनेगल फर्वाड साडियो माने र रियलका फ्रेन्च स्टार करिम बेन्जमा यो वर्ष वर्ष बालेन डिओरका लागि अग्रस्थानमा छन्। ३४ वर्षीय बेन्जामाले १५ गोल गरिसकेका छन्। उनले २ ह्याट्रिक प्रहार गरे। त्यसो त अफ्रिकन कप अफ नेसन जिताएका माने लिभरपुललाई च्याम्पियन्स लिग जिताएर आफूलाई यो दौडमा बलियो बनाउन चाहन्छन्।

समग्रमा लिभरपुल  रियल च्याम्पियन्स लिगमा अहिलेसम्म आठपटक एक–अर्काविरुद्ध भिडेका छन्। रियलले चारपटक नतिजा आफ्नो पक्षमा पार्दा लिभरपुलले तीनपटक जितेको छ। पछिल्लो पटक २०२०–२१ मा भएकोको क्वार्टरफाइनलको दोस्रो लेगमा गोलरहित बराबरी भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.