|

हेटौंडा : संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९\०८० को  लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। 

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा प्रस्तुत गरेको बजेटमा बागमती प्रदेशका विभिन्न योजना समेटिएका छन्। प्रदेश सरकारले प्राथमिकतामा राखेको भनिएको योजनालाई केन्द्र सरकारले समेत बजेटको व्यवस्था गरेको बताएको हो। 

बागमती प्रदेशमा गठबन्धन नेतृत्वको सरकारले न्यूनतम साझा कार्यक्रममा राखेको तीनवटा सुरुङमार्ग निर्माण कार्यक्रमका लागि केन्द्रले पनि बजेट विनियोजन गरेको छ। अर्थमन्त्री शर्माले मकवानपुरको भीमफेदी–कुलेखानी, सिन्धुलीको खुर्कोट–चियाबारी सुरुङमार्ग र धादिङ र चितवनलाई जोड्ने हुग्दिखोला–शक्तिखोर सुरुङमार्ग निर्माण गरिने घोषणा गरे। 

सरकारले दुई दशकदेखि बन्द अवस्थामा रहेको  हेटौंडा कपडा उद्योग पनि सञ्चालन गर्ने घोषणा गरेको छ।सरकारले दुई दशकदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनःसञ्चालनमा ल्याउने घोषणा गरेको हो। 

त्यस्तै सरकारले हेटौंडा उपमहानगरपालिका–४स्थित कर्रा खोलाको कटान र बस्ती डुबान रोक्न करिडोर निर्माण गर्ने पनि घोषणा गरेको छ। हेटौंडा उपमहानगरपालिकामा पर्ने कर्रा खोलामा करिडोर निर्माण गरी बस्ती विकास कार्य गर्ने घोषणा सरकारले गरेको हो। कर्रा खोलाको कटान र डुबानका कारण हेटौंडा–४, ५ र ६ वडाका बासिन्दा समस्यामा पर्दै आएका थिए।

सरकारले काभ्रेको बनेपामा इन्डोर स्टुडियो बनाउने पनि घोषणा गरेको छ।  यस्तै सिन्धुलीको मरिणलाई नयाँ शहरको रूपमा विकास गर्ने घोषणा गरेको छ। सिन्धुलीको मरिणलाई संस्कृति र प्राचीनता झल्किने गरी नयाँ शहरको रूपमा विकास गर्ने घोषणा गरेको हो। सरकारले पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने पथलैया–हेटौंडा–नारायणघाट सडक खण्ड विस्तार गर्ने घोषणा पनि  गरेको छ। 

चितवनको कठारमा रिफ्रेसिङ सेन्टर निर्माणको गर्ने घोषणा पनि सरकारले गरेको छ। चितवनको कठारमा स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा युवा तथा खेलकुद शीर्षकअन्तर्गत रिफ्रेसिङ सेन्टर निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरिने अर्थमन्त्री शर्माले जनाएका छन्।  

त्यतैगरी सरकारले धादिङको बेल्कुमा ट्रमा सेन्टर निर्माणको घोषणा गरेको छ। बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालमा डाइलाइसिस सेवा सञ्चालनका लागि सबै प्रादेशिक अस्पताललाई १० करोड रुपैयाँ उपलब्ध गराउने सरकारले घोषणा गरेको छ। त्यसैगरी बागमती प्रदेशमा सरकारी स्वामित्वको ब्लड बैंक स्थापना गर्ने पनि जनाइएको छ। चितवन शारदानगर र काभ्रको पाँचखालमा निर्माणको क्रममा रहेको खानेपानी आयोजना आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने घोषणा गरेको छ भने चितवनको शक्तिखारमा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेको छ। 

बाराको अम्लेखगञ्जदेखि मकवानपुरको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तारको घोषणा गर्दै आवश्यक बजेट विनियोजन गरेको पनि अर्थमन्त्री शर्माले जनाएका छन्। सरकारले धादिङको रुबिभ्याली र रसुवाको आमाछोदिङमोको पत्थर उत्खनन् र प्रशोधन सुरु गर्ने भएको छ। चितवनबाट केन्द्रीय राजधानी काठमाडौं एक घण्टमा नै पुग्ने द्रुतमार्ग निर्माण गर्ने घोषणा सरकारले गरेको छ। अर्थमन्त्री शर्माले चन्द्रागिरी–चित्लाङ–पालङु–चितवन द्रुतमार्ग निर्माण गर्ने जनाएका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.