चार–चार महिनामा प्रगति प्रतिवेदन पार्टीमा पेश गर्नुपर्ने

|

काठमाडौं : नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण सुरु गरेको छ। काठमाडौं कमलपोखरीस्थित पुरानो कुमारी हलमा प्रशिक्षण सुरु भएको हो। 

जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए। 

नवनिर्वाचित पालिका प्रमुख उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, निर्वाचित केही स्वतन्त्र उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका नेता एवं पूर्व स्थायी समिति सदस्यहरू प्रशिक्षणमा सहभागी रहनेछन्। 

उद्घाटन सत्रमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले राजनीतिक प्रशिक्षण दिने र लगत्तै पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले ‘स्थानीय सरकारको कानूनी क्षेत्राधिकार, काम, कर्तव्य र अधिकार’ विषयमा प्रशिक्षण दिने तय भएको माओवादी केन्द्रले जनाएको छ। 

दुई दिने प्रशिक्षणमा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा विज्ञहरूले प्रशिक्षण दिनेछन्। 

माओवादीले पार्टीका जनप्रतिनिधिले गरेका काम–कारबाहीको अनुगमन र मूल्याङ्कनसमेत गर्ने भएको छ। त्यसका लागि माओवादीले स्पष्ट विधि बनाएको छ। 

जनप्रतिनिधिले प्रत्येक चार–चार महिनामा प्रगति समीक्षासहितको प्रतिवेदन पार्टीमा पेश गर्नुपर्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.