|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  काठमाडौं र धरानमा स्वतन्त्र उम्मेदवारलाई जिताएर जनताले माओवादी केन्द्रलाई सबक सिकाएको बताएका छन्। 

आफ्नो पार्टीका निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने क्रममा उनले निर्वाचन जित्ने स्वतन्त्र उम्मेदवारहरूले माओवादीको जस्तो कुरा गरेका कारण जनताले मत दिएका बताए। 

‘माओवादीले गर्ने जस्तो व्यवहारका कुरा गरेका कतिपय स्वतन्त्र मान्छेहरूलाई जनताले जसरी अपवादको रूपमा भन्छु। कोही कोही साथीहरूले भन्नुभयो भोलि त ७५३ मै त्यस्ता हुन्छन् भन्ने कुरा होइन है। यो भ्रममा हामी कोही नपरौँ। अझै कैयौँ दशकसम्म पार्टीहरूले नै बिग्रे पनि सप्रे पनि राज्य तिनीहरूले नै गर्छन् देशमा। स्वतन्त्र आएर नै लान्छन् भन्ने चाहिँ होइन’ प्रचण्डले भने, ‘काठमाडौं र धरान चाहिँ अली भिन्न छन्। अरू कोही स्वतन्त्र मैले ठान्या छैन। तर, ती भिन्नलाई मैले हेर्दा के देख्छु भने उनीहरुले माओवादीको जस्तो कुरा गरेका छन्। त्यसो भएर जनताले मत दिएको हो।’

देशमा अझै कैयौँ दशकसम्म पार्टीहरुले नै राज्य गर्ने उल्लेख गर्दै पार्टी प्रणालीलाई कमजोर बनाएर स्वतन्त्रको राज्य नचल्ने बताए। 

‘हिजो हामीले जे भन्थ्यौँ जनताको सेवा गर्ने, धारो, पानी, फोहोरमैला व्यवस्थापन, शोषण, विभेद, अन्याय, अत्याचार सब सिध्याउँछौँ भनेर भनेको होइन? हामीले राम्रोसँग नगरेको देखेपछि ल हेर ती तिमीहरूले गर्दैनौँ भने हामी यसो गरिदिन्छौँ भनेर जनताले हामीलाई नै सबक सिकाएको जस्तो लाग्छ मलाई। त्यो हाम्रो लागि सबक हो’ प्रचण्डले भने। 

‘हामी आफूलाई जनताको सेवाको निम्ति समर्पित हुनको निम्ति एउटा पाठको रूपमा लिनुपर्छ। त्यसलाई नकारात्मक रूपमा लिने कुराको केही अर्थ हुँदैन। तर, स्वतन्त्रले नै देशमा चलाउँछन् भन्ने भ्रममा हामी कोही पर्नुहुन्न। त्यो अपवाद हो। उहाँहरू कुनै न कुनै रुपमा पार्टीहरूसँग समन्वय गरेर मात्रै आफ्नो कामलाई अगाडी बढाउन सक्ने स्थिति हुन्छ। अहिले यो देशमा पार्टी सिस्टम कमजोर बन्ने, स्वतन्त्रको राज्य चल्ने भन्ने यो बिल्कुल हुन सक्ने कुरा होइन।’

गठबन्धन कायम रहने स्पष्ट पार्दै माओवादी केन्द्रलाई हल्का रूपमा नलिन पनि चेतावनी दिए। उनले माओवादी केन्द्रले जितेका स्थानीय तहहरूमा पार्टीको आधार इलाका हुनेगरी काम गर्न निर्देशनसमेत दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.