|

काठमाडौं : विश्वप्रसिद्ध फिल्म फेस्टिभल कान्सको ७५ औँ संस्करण सम्पन्न भएको छ। सन १९४६ देखि निरन्तर आयोजना हुँदै आएको फिल्म फेस्टिभल विश्वका सबैभन्दा ठूला पाँच फिल्म फेस्टिभल ‘बिग फाइभ'मा पर्छ। 

विश्वभरका चलचित्रप्रेमीले चासोका साथ हेर्ने यो फेस्टिभलमा कुनै फिल्मले सहभागिता जनाउनु नै ठूलो उपलब्धि मानिन्छ। अझ नेपाल जस्तो विश्व चलचित्र बजारमा आफ्नो पहिचान बनाउने क्रममा रहेका देशहरूमा बनेका फिल्मले सहभागिता जनाउँदा खुसी सर्जकमा मात्रै सीमित नरहेर देशभर रहेका फिल्मप्रेमी दर्शकमा फैलिन्छ। 

सामान्यतया नेपालमा उति चर्चा नहुने कान्स फिल्म फेस्टिभलको ७५ औँ संस्करण भने नेपालीका लागि पनि सम्झनलायक रह्यो। सुरक्षा पन्त कान्सको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली अभिनेत्री बन्नु नेपालीका लागि कान्स सम्झनलायक हुनुको एउटा कारण भयो भने अर्को कारण भयो नेपाली सर्ट फिल्म 'लोरी'।

अभिनाशविक्रम शाहको निर्देशनमा बनेको फिल्म 'लोरी'ले कान्सको ७५ औँ संस्करणमा सहभागिता मात्रै जनाएन महत्त्वपूर्ण 'स्पेसल मेन्सन' अवार्ड पनि पायो। जुन नेपाली फिल्म क्षेत्रकै लागि एउटा ऐतिहासिक सफलता पनि हो। 

त्यस्तै गत शुक्रबारदेखि प्रदर्शनमा आएको अर्को नेपाली फिल्म 'कबड्डी ४' ले ऐतिहासिक कमाइ गरेको छ। पहिलो दिन नै तीन करोडमाथिको कलेक्सन गरेको फिल्मले चार दिनमा १० करोडको आँकडा पार गरेको छ। जुन नेपाली फिल्मको इतिहासमै सबैभन्दा राम्रो व्यावसायिक प्रदर्शन हो। 

नेपालमा मात्रै नभएर कबड्डी ४ को चर्चा विदेशमा पनि उत्तिकै छ। फिल्मले विदेश राइट्सबाट मात्रै प्रदर्शन अघि नै लगानी सुरक्षित गरिसकेको थियो। आगामी असार १ देखि फिल्म भारतका १५ सहरमा एकसाथ प्रदर्शनमा आउँदै। जुन नेपाली फिल्म इतिहासमा अर्को एउटा कीर्तिमान हो। 

फिल्मकी अभिनेत्री मिरुना मगर र लामा फुर्पा तामाङको केसका कारण मंगलबार फिल्मको बक्स अफिसमा केही असर गरे पनि बुधबारदेखि हलमा दर्शकको कमी छैन। मल्टिप्लेक्सले 'कबड्डी ४' लाई ८० देखि शतप्रतिशतसम्म शो दिएको छन्। फिल्मले हलमा पाएको शो र एडभान्स बुकिङले पनि नयाँ कीर्तिमान बनाएका छन्। 

कोरोनाका कारण झण्डै दुई वर्ष सुनसान रहेको नेपाली फिल्म क्षेत्र अब कुन बाटोमा जाने हो भन्ने प्रश्न धेरैको मनमा थियो। लकडाउनपछि कहिले फिल्म प्रदर्शन गर्ने भन्नेमा निर्माताहरू द्विविधामा थिए। जसले गर्दा केही समय हल खुले पनि दर्शकले नयाँ फिल्म हेर्न पाएनन्। त्यसपछि प्रदर्शनमा आएका फिल्मले पनि सोचे अनुरूपको प्रदर्शन गर्न नसकिरहँदा, विदेशी फिल्मले भने लगातार राम्रो प्रदर्शन गरिरहेका वेला, फिल्म क्षेत्रकै व्यक्तिहरूले नेपाली फिल्म क्षेत्र ह्रासोन्मुख बाटोमा छ भनिरहँदा नेपाली फिल्म उद्योग खतरामा छ, अब पहिलेको अवस्थामा आउन धेरै वर्ष पो लाग्ने हो कि, अथवा कहिल्यै नआउने हो कि भन्ने प्रश्न पनि उठिरहेको थियो। 

तर व्यवसायिक रूपमा 'म यस्तो गीत गाउँछु २' र 'ए मेरो हजुर ४' नेपाली फिल्म उद्योगको लागि राहतको सास बनेर आयो। 'ए मेरो हजुर ४' ले त अझ बहुप्रतीक्षित कन्नड फिल्म 'केजिएफ च्याप्टर २' सँग मिति जुध्दा पनि आफ्नो लगानी सुरक्षित गरेर राम्रो मुनाफा पनि कमायो। यो नेपाली फिल्म उद्योगको लागि महत्त्वपूर्ण घटना थियो। 

त्यस्तै अर्को ति दिपक रौनीयारको 'फोर नाइट' बर्लिल फिल्म फेस्टिभलमा छानियो, निरञ्जन भेटवालको 'अनहद' र सुनील पाण्डेको 'बाघथान' रोट्रड्याम फिल्म फेस्टिभलमा छानिए, विक्रम सापकोटाको 'हल्कारा'ले पनि अन्तर्राष्ट्रिय बजारमा तारिफ पायो। 

प्रदर्शनको मुखमा अरु धेरै फिल्म छन् जसको गुणस्तर, सफलता, असफलता बारे चर्चा बाँकी छ। धेरै मेकर प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डमा भाग लिने आशाका साथ फिल्म बनाइरहेका पनि छन्। क्षेत्र सक्रिय छ। यस्तोमा 'कबड्डी ४' र 'लोरी'ले नेपाली फिल्म उद्योगको लागि एउटा शुभसंकेत भने दिएका छन्। 

एक हप्ता भित्रै व्यावसायिकतर्फ पनि धेरै कीर्तिमान बन्नु, समीक्षात्मक रूपमा विश्वले हेर्ने ठाउँमा नेपाली फिल्मको चर्चा हुनु, अवार्ड नै हात पार्नुले नेपाली फिल्म उद्योगमा शुभसंकेत सहितको एउटा तरंग ल्याएको छ। व्यवसायिक फिल्म र आर्ट फिल्म दुवै तिर धेरै संभावनाहरू देखिएका छन्, जुन सिंगो फिल्म उद्योगको लागि महत्त्वपूर्ण हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.