|

काठमाडौं : गत शुक्रबार प्रदर्शनमा आएको 'कबड्डी ४ः द फाइनल म्याच'ले पहिलो हप्ता ऐतिहासिक प्रदर्शन गर्‍यो। एकल प्रदर्शन पाएको भएकाले पनि 'कबड्डी ४' कीर्तिमानी कमाइ गर्न सफल भयो। दोस्रो हप्तामा भने ‘कबड्डी ४’ को लागि चुनौती थपिने भएको छ। शुक्रबारदेखि एकसाथ ४ विदेशी फिल्म प्रदर्शनमा आउन लागेकाले 'कबड्डी ४' काे रफ्तारमा कमी आउने संभावना देखिएको हो। 

शुक्रबार टम क्रुज अभिनित हलिउड फिल्म 'टपगनः मावरिक', अक्षय कुमार अभिनित बलिउड फिल्म 'सम्राट पृथ्वीराज', कमल हासन अभिनित कन्नड फिल्म 'विक्रम' र तेलुगु फिल्म 'मेजर' एकसाथ प्रदर्शनमा आउँदैछन्। जसमध्ये 'टपगन' र 'सम्राट पृथ्वीराज'ले 'कबड्डी ४' लाई बढी असर गर्ने देखिएको छ।

दोस्रो हप्तामा धेरै नयाँ फिल्म आएकाले 'कबड्डी ४' ले पहिलो हप्तामा पाएको शो बाँडिएको छ। यद्यपि सबै हलमा अधिकांश शो भने 'कबड्डी ४' ले नै पाएको छ। 'मावरिक' र 'पृथ्वीराज'ले २५ देखि ३० प्रतिशतसम्म शो पाउँदा 'कबड्डी ४' ले सबै जसो हलमा ५० प्रतिशतभन्दा बढी शो पाएको छ। 

ऐतिहासिक कथामा आधारित 'सम्राट पृथ्वीराज' अक्षयको करिअरको सबैभन्दा महंगो फिल्म हो। चन्द्रप्रकाश द्विवेदीको लेखन तथा निर्देशनमा बनेको फिल्म २ सय ५० करोड (भारु) बजेटमा बनेको हो। ऐतिहासिक एक्सन ड्रामा जनरामा बनेको फिल्ममा अक्षयबाहेक संजय दत्त, सोनु सुद, मानुषी चिल्लरलगायत कलाकारको मुख्य भूमिका रहेको छ। 

एक्सन ड्रामा जनरामा बनेको 'टपगन' विश्वभरिबाट राम्रो चर्चा कमाइरहेको फिल्म हो। अमेरिकालगायत विभिन्न देशमा गत हप्तादेखि नै प्रदर्शनमा आएको फिल्मले ३ सय ४१ मिलियन डलरभन्दा बढी कमाइ गर्दै यस वर्ष धेरै कमाउने फिल्मको सूचीमा सातौँ नम्बरमा रहेको छ। नेपालमा 'टपगन'लाई सबैभन्दा बढी शो क्युएफएक्स चेनले दिएको छ जसको एडभान्स बुकिङले पहिलो दुई दिन दर्शकको उपस्थिति उल्लेख्य रहने संकेत गरेको छ। 

पहिलाे हप्ता अधिकांश हलमा शत प्रतिशत शोका साथ प्रदर्शन भएको 'कबड्डी ४' को बक्स अफिस कलेक्सन १५ करोड नजिक पुगेको छ। पहिलो दिन नै ३ करोडभन्दा बढी कलेक्सन गरेको फिल्म एक हप्तामा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको सूचीमा शीर्ष ५ भित्र पर्न सफल भएको छ। एकसाथ धेरै फिल्म प्रदर्शनमा आउँदा फिल्मको दोस्रो हप्ताको प्रदर्शन भने हेर्न बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.