|

काठमाडौं : उपत्यकाको फोहोर चोकचोक र सडकमा थुप्रिने घटना कुनै नौलो होइन। फोहोरमैला व्यवस्थापनमा डम्पिङ साइट बेलाबेलामा बन्द हुँदा या समस्या आउँदा फोहोर उठाउन कठिन हुने गरेको छ।

आइतबार विश्व वातावरण दिवस मनाइरहँदा वातावरणलाई नै चुनौती दिने फोहोरले काठमाडौं उपत्यकावासी सडक र शहरबजारमा नाक थुनेर हिँड्न बाध्य भएका छन्।

काठमाडौंका मुख्य चोकचोकमा विगत १० दिनेदेखि नै फोहोर उठाउन नसक्दा फोहोर ब्यवस्थापन गरेर मनाइने वातावरण दिवसमा पनि ठाउँ ठाउँमा थुप्रिएको फोहोरलाई टुलुटुलु हेरेर बस्न बाध्य हुनुपर्‍यो।

उपत्यकाका सडकछेउ, गल्ली र चोकमा थुप्रिएको फोहोरमैला नउठ्दा गर्मीको समय र अविरल वर्षाको समयमा सहरी क्षेत्रमा दुर्गन्धित भई जनस्वास्थ्यमा प्रतिकूल असर पर्नेतर्फ जनस्वास्थ्यविद्ले सजग गराएका छन्।

यसबाट झाडापखाला, विषम ज्वरो, हैजा, आदिका समस्या आउन सक्ने सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए। 'खासगरी गर्मी महिनामा फोहोर हुनु भनेको रोगहरुलाई थप बढावा दिनु हो, कोही संक्रमित भएमा त्यसको मलमूत्रबाट भान्छाघर र खानेपानीको माध्यमबाट संक्रमण फैलिने खतरा हुन्छ', उनले भने, सम्बन्धित निकायले फोहोरको ब्यवस्थापन गर्नुपर्छ, त्यो संभव नहुन्जेल हामीले ब्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ।

फोहोर विसर्जन हुने बन्चरे डाँडा र सिसडोलमा अवरोध हुँदा फोहोर उपत्यकामै थुप्रिएको काठमाडौं महानगर वातावरण विभागकी प्रमुख सरिता राईले बताइन्। काठमाडौं उपत्यकामा रहेका १८ वटा स्थानीय तहको फोहोर लैजाने जिम्मा पाएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह फोहोर ब्यवस्थापनका लागि निर्वाचित भएदेखि खटिएका छन्।

समस्या समाधानका लागि स्थानीय सरकार, स्थानीयवासी र बागमती प्रदेशका मुख्यमन्त्रीसँग पनि मेयर साहले छलफल गरिरहेका छन्। दैनिक १२ सय टन फोहोर उत्पादन हुने उपत्यकामा ५० प्रतिशत फोहोरको हिस्सा काठमाडौं महानगरकै रहेको छ।

१७ सय ९२ रोपनीमा फैलिएको बन्चरे डाँडा फोहोर विसर्जन साइट वरपरका वासिन्दा आफ्ना करिब ४ हजार रोपनी जग्गा पनि सरकारले लिनुपर्ने माग तेर्स्याइरहेका छन्।

यो माग आफूहरुको बलबुताले संबाेधन हुन नसक्ने विभागकी प्रमुख राई बताउँछिन्। 'यसका लागि हामीले मात्र गर्न सक्ने देखिएन, संघीय सरकारले उनीहरुको माग संबाेधन गर्नुपर्ने हो,' उनले भनिन्, '४ हजार रोपनी जग्गा अधिग्रहण गर्न महानगरको बलबुताले भ्याउँदैन।'

उनका अनुसार ४२ रोपनी क्षेत्रफलको टेकुमा रहेको सबस्टेसनमा समेत स्थानीयले विरोध जनाएपछि ३ दिनदेखि त्यहाँ पनि फोहोर थुपार्न सकिएको छैन। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.