|

बैतडी : बैतडीको सुर्नया नदीबाट नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको छ। पाटन नगरपालिकाले उक्त नदीबाट ढुंगा, गिट्टी, बालुवा लगायतका नदीजन्य पदार्थको उत्खननमा रोक लगाएको हो।

नदीबाट अवैध तरिकाले नदीजन्य पदार्थको उत्खनन भईरहेकाले अर्को सूचना नभए सम्मका लागि नदीजन्य पदार्थको उत्खननमा रोक लगाइएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताए। नगरकार्यपालिकाको प्रथम बैठकले सुर्नया नदीमा भईरहेको प्राकृतिक श्रोतको दोहन रोक्न यो निर्णय गरेको हो।

सूचना जारी गर्दै नगरकार्यपालिकाको बैठक निर्णय अनुसार नदीजन्य पदार्थ उत्खननमा रोक लगाएको र सूचनाको अवज्ञा गरेमा कानुन अनुुसार कारवाही हुने जनाइएको छ।

सुर्नया नदीबाट निर्वाध रुपमा ढुंगा, गिट्टी, बालुवा लगायतका सामग्री उत्खनन् हुँदा नदी प्रणालीमै समस्या आएकाले नगरपालिकाले यो निर्णय गरेको हो। नदीजन्य पदार्थको व्यवस्थित तरिकाले उत्खननका लागि नगरपालिकाले कार्यविधि बनाउने र त्यसपछि ठेक्का प्रणाली मार्फत नदीजन्य पदार्थको उत्खनन गर्न दिने तयारी भएको छ।

नगरपालिकाले नदी क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्दा निश्चित मापदण्ड बनाउने र त्यसपछि मात्रै उत्खनन गर्ने कार्य शुरु गर्ने र जथाभावी भईरहेको दोहनलाई रोकेर करको दायरमा ल्याईनेछ।

नगरपालिकाले ठेक्का प्रणाली मार्फत निश्चित मापदण्डका आधारमा ढुंगा, बालुवा, गिट्टी उत्खनन गर्न दिनेछ। यसका लागि मापदण्ड बनाइने पाटन नगरपालिकाले जनाएको छ।

यसैबीच विभिन्न निर्णयहरु पारित गर्दै पाटन नगरकार्यपालिकाको प्रथम बैठक सम्पन्न भएको छ। नगरपालिकाभित्र सेवाका लागि आउने नागरिकलाई सहयोग होस भनेर हेल्प डेस्क सञ्चालन गर्नुका साथै डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याउने निर्णय भएको छ।

यस्तै किसानहरुलाई भैँसीपालन व्यवसायमा आकर्षित गर्नका लागि अनिवार्य पशु बीमा कार्यक्रम सञ्चालन गर्ने, नगर क्षेत्रभित्रका छाप्राहरुलाई करको दायरमा ल्याउन विज्ञ समिति गठन गर्ने, नगर क्षेत्र भित्रका प्रत्येक विद्यालयमा योग शिक्षा सञ्चालन गर्ने, मुख्य बजारहरुमा महिनाको एक दिन हाट बजार सञ्चालन गर्ने र नगरपालिका कार्यालय सञ्चालनमा आवश्यक फर्निचर लगायतका सामग्री खरिद गर्दा स्थानीय उत्पादनलाई प्राथमिकता दिने निर्णय भएको छ।

यस्तै शव वाहन खरिद गर्ने र नगर क्षेत्र भित्र नि:शुल्क रुपमा शववाहन उपलब्ध गराउने, नगर क्षेत्रभित्रका योजनाहरुको लागत स्टमेट नेपाली र अंग्रेजी दुवै भाषामा तयार पार्ने, उपभोक्ता समितिको प्रमुख पदमा महिलालाई प्राथमिकता दिने, पाटन नगरपालिकाको लोगो निर्माण गर्ने, नगर प्रमुख शैक्षिक कार्यक्रम अन्तर्गत विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउने, पूर्ण स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने, भारतमा काम गर्ने नगर क्षेत्रभित्रका मजदुरहरुको दुर्घटना बीमा गर्ने निर्णय गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.