|

काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचन आयोगका मुख्यमुख्य पदाधिकारी र न्यायालयमाथि कारवाही गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा आफ्ना पार्टीका उम्मेदवारले उजुरी दिँदा पनि निर्वाचन चिन्ह मादल नदिएको उल्लेख गर्दै निर्वाचन आयोग र न्यायालयमाथि कारवाही गर्न सरकारकाे ध्यानाकर्षण गराएका हुन्।

यस खालको गतिविधिमा संलग्न निर्वाचन आयोगका पदाधिकारी र न्यायालयलाई प्रजातन्त्रको रक्षाका लागि पनि कारवाही गर्नुको विकल्प नभएको सांसद सुवालको तर्क थियो।

‘निर्वाचन आयोगले गत स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा नेपाल मजदुर किसान पार्टीको चुनाव चिन्ह मादल दिएन। यस विरुद्ध निर्वाचन आयोग र न्यायालयमा हाम्रो उम्मेदवारले उजुरी दिनु भयो तर पनि दिइएन’ उनले भने ‘यसकारण निर्वाचन आयोगका मुख्यमुख्य पदाधिकारी र न्यायालयले प्रजातन्त्र खोस्ने काम गर्‍यो। आवश्यक कारबाही हुनुपर्छ भन्ने कुरा सभामुखमार्फत सरकारलाई निर्देशन हुनुपर्दछ भन्ने माग गर्न चाहन्छु।’, उनले भने।

निर्वाचन जित्न पैसा र सामान बाँड्नुपर्ने अवस्था आउन नदिन पनि सरकारलाई सचेत गराए।

‘प्रजातन्त्रको निम्ति यो आवश्यक छ। राजनीति शास्त्रको पुस्तकमा निर्वाचनमा जित्न पैसा र सामान बाँड्ने र निर्वाचन आयोगले पार्टीको चुनाव चिन्ह नदिनेलाई प्रजातन्त्र भनी परिभाषित गर्नुपर्ने दिन आयो कि? शब्दकोषमा पनि संयुक्त सरकारको अर्थ भागबण्डा, राजनीति भनेको घुस, पक्षपात भनी फेर्नुपर्ने भयो कि?’ उनको प्रश्न छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.