|

बागलुङ : नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा नाउरको संख्या घटेको छ भने झारल बढेको छ। आरक्ष कार्यालयका अनुसार यस पटकको गणनामा एक हजार २९० नाउर र ७४४ झारल भेटिएका छन्। अघिल्लो गणना २०७२ को तुलनामा नाउरको संख्या कम र झारलको बढी रहेको पाइन्छ।

२०७२ मा आरक्षमा दुई हजार २०२ नाउर र ३८८ झारल भेटिएका थिए। हरेक पाँच वर्षमा आरक्षमा रहेका नाउर र झारलको गणना गर्ने गरिन्छ। कोभिड–१९ का कारण यसपटकको गणना एक वर्षपछि धकेलिएको थियो। गणनाको नतिजालाई आधार मानेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकारको कोटा निर्धारण गर्ने गर्छ। बर्षेनी १९ देखि २४ सम्म नाउर र १४ देखि १९ सम्मको संख्यामा झारलको शिकार कोटा तोकिने गरिएको आरक्षका सहायक संरक्षण अधिकृत सूर्य खड्काले जानकारी दिए।

‘नाउरको सङ्ख्या घटेको पाइएपछि यस वर्ष न्यूनतम १९ वटाको मात्र शिकार कोटा तोकियो, झारल पनि १४ मा सीमित भयो’, उनले भने, ‘गणनामा भेटिने नाउर र झारलको संख्या विश्लेषण गरेर शिकार कोटा निर्धारण गरिन्छ।’

नाउरको संख्या घटेपछि विभागले शिकार कोटा पनि घटाएको देखिन्छ। केही वर्ष अघिसम्म वार्षिक २२ देखि २४ वटासम्म नाउरको शिकार हुने गर्थ्याे। सहायक संरक्षण अधिकृत खड्काले आरक्षका सातै शिकार ‘ब्लक’मा पुगेर नाउर र झारलको गणना गरिएको बताए।

‘झारल र नाउर समूहमा भेटिन्छन्, हेड काउन्ट नै गरिन्छ’, उनले भने, ‘हरेक शिकार ब्लकमा छुट्टाछुट्टै गणना हुन्छ, शिकार कोटा पनि त्यही अनुसार तोकिन्छ।’ पछिल्लो नाउर र झारलको गणना राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत गरिएको आरक्ष कार्यालयले जनाएको छ।

नाउर ढोरपाटनमा बढी शिकार हुने जनावरमा पर्छ। तीन हजार मिटरदेखि पाँच हजार माथिसम्म पाइने नाउर हिमाली भेडाले पनि चिनिन्छ। नाउर बथानमा बस्छ। नाउरको आयु करिब १५ वर्ष हुन्छ। लाङ्टाङ, मकालु, वरुण राष्ट्रिय निकुञ्ज लगायत अधिकांश हिमाली क्षेत्रमा नाउर पाइने भए पनि ढोरपाटनमा मात्र यसको वैधानिक शिकार गर्न पाइन्छ।

झारल पनि बाख्रा प्रजातिमा पर्ने जनावर हो। नाउर र झारल शिकारका लागि बर्षेनी विख्यात विदेशी शिकारी ढोरपाटन आउने गर्छन्।

लाखौँ खर्चेर शिकारको रोमाञ्चक अनुभव बटुल्न उनीहरु लालायित हुन्छन्। स्वदेशी शिकार कम्पनीमार्फत विदेशी शिकार खेल्न जान्छन्। असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा ढोरपाटनमा शिकार खुला हुन्छ। चालू आवको दुवै याममा गरी १७ नाउर र आठ झारलको शिकार भएको आरक्ष कार्यालयले जनाएको छ।

शिकार कम्पनी नेपाल ट्राभल एक्पिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ आउटफिटर र ट्रयाक एण्ड ट्रेल्सले यस वर्ष शिकार खेलाएको थियो। अमेरिका, फ्रान्स, डेनमार्क, मेक्सिको, नर्वे, युक्रेन, स्पेनलगायत देशका पेशेवर शिकारीले नाउर र झारलको शिकार गरेका थिए। विद्युतीय बोलपत्रमार्फत छानिएका कम्पनीलाई मात्र विभागले शिकार खेलाउनका लागि अनुमति दिने गर्छ।

कम्पनीले यस वर्षको दोस्रो शिकार याममा नाउर शिकारको न्यूनतम रु तीन लाख ५० हजारदेखि रु १४ लाख २५ हजारसम्म राजस्व सरकारलाई बुझाएको ग्लोबल सफारिजका प्रबन्ध निर्देशक शमशेर पराजुलीले जानकारी दिए। कोभिड–१९ महामारीको जोखिम घटेसँगै शिकारका लागि विदेशी ढोरपाटन आउन उत्सुक देखिएको उनको भनाइ छ।

बन्दाबन्दी र यात्रा प्रतिबन्धनका कारण महामारी सुरु भएको पहिलो वर्ष ढोरपाटनमा शिकार नै हुन सकेको थिएन। शिकार पर्यटनका लागि विश्वमै प्रख्यात ढोरपाटन सौखिन र खर्चिला विदेशी शिकारीको रोजाइमा पर्छ। पछिल्लो समय ढोरपाटन मोटरबाटोले जोडिएपछि आन्तरिक तथा बाह्य पर्यटकको समेत घुइँचो लाग्न थालेको छ।
  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.