लगानीकर्ताको रक्षा गर्न इमान्दारीसाथ लागिरहेका छौं : अर्थमन्त्री शर्मा

|

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले नेपाली पुँजी बजारमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले ४ सदस्यीय सुझाव समिति गठन गरेको बताएका छन्। 

नेपाल धितोपत्र बोर्डको ३० औँ वार्षिकोत्सवमा सम्बोधन गर्दै बुधबार मन्त्री शर्माले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकका प्रतिनिधिसहित ४ सदस्यीय समिति गठन गरेको बताएका हुन्। 

समितिले दिने सुझावका आधारमा पुँजी बजार सुधार गर्ने प्रतिबद्धतासमेत जनाए। उनले पुँजी बजारमा संलग्न रहेका लाखौं लगानीकर्ता र सयौं कम्पनीको समस्यालाई सरकारले गम्भीरताका साथ हेरेर अनुगमनसमेत गरिरहेको दाबी गरे। 

मन्त्री शर्माले पुँजी बजार व्यवस्थित गर्नेबारे सरकार चिन्तित रहँदै आएको पनि स्पष्ट पारे। उनले पुँजी बजारमा अहिले देखिएका समस्या समितिले दिने सुझावको आधारमा सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाए। अर्थ मन्त्रालयले निरन्तर रुपमा इमान्दारीसाथ पुँजी बजार लगानीकर्ताहरूको रक्षाका लागि काम गरिरहेको पनि दाबी गरे। 

‘आज पुँजी बजारमा संग्लन हुनुभएका हजारौं व्यक्तिहरू सयौं कम्पनी छन्। यहाँहरूको समस्यालाई हामीले हेरिरहेका छौं‚ अनुगमन गरिरहेका छौं। कसरी पुँजी  बजारलाई व्यवस्थित बनाउने भनेर हामी पनि चिन्तित छौं। सोही सन्दर्भमा अहिले पुँजी बजारमा देखिएका विविध समस्याहरुलाई समाधान गर्न सुझाव प्रस्तुत दिन आजमात्र हामीले राष्ट्र बैंकका गभर्नर, धितोपत्र बोर्डका अध्यक्ष र हामी बसेर धितोपत्र बजारमा देखिएका समस्या समाधान गर्न ४ सदस्यीय सुझाव समिति गठन गरेका छौं‚’ उनले भने, ‘त्यसले दिएका सुझावहरूका आधारमा त निकायहरूले गर्नुपर्ने कामहरू गर्ने गरी समिति गठन गरेका छौं। हामी लगानीकर्ताको रक्षा गर्ने सन्दर्भमा इमान्दारीसाथ निरन्तर लागिरहेका छौं।’

अर्थ मन्त्रालय सधैँ नियमनकारी निकायहरू स्वायत्त रहनुपर्छ भन्ने पक्षमा रहेको उनले बताए। उनले पुँजी बजार तथा वित्तीय क्षेत्रका नियमनकारी निकायहरू स्वायत्त नै रहेको दाबी गरे। अब नियमनकारी निकायले स्वायत्तता मात्रै नभएर जवाफदेहिता र पारदर्शिता सहितको स्वायत्तता खोज्नुपर्ने बताए। आफ्नो क्षेत्रको जवाफदेही नहुने र स्वायत्तता मात्रै खोज्यो भने कुरा नमिल्ने मन्त्री शर्माको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.