|
प्रतीकात्मक तस्विर

पाल्पा : रामपुर नगरपालिकाले अनुदानमा उपलब्ध गराएको धानको बीउ यहाँको एक सहकारीले महँगोमा किसानलाई बिक्री गरेको पाइएको छ।

रामपुर–३ रजघरास्थित दर्छा हरियाली साना किसान कृषि सहकारी संस्थाले नगरपालिकाबाट अनुदानमा उपलब्ध भएको बीउ मूल्य बढाएर किसानलाई वितरण गरेको हो । 

स्थानीय कृष्ण पराजुली अनुदानमा आएको बीउ सहकारीले किसानलाई चर्को मूल्यमा बिक्री गरेको आरोप लगाए । बीउ खरिद गरेर घर लगेपछि सहकारीले रामपुर नगरपालिकाबाट अनुदानमा ल्याएको धानको बीउ बढी मूल्यमा बिक्री गरेको थाहा पाएँ’, उनले भने। उनका अनुसार सकारी ६ रुपैयाँ महँगोमा बीउ बिकरी गरेको हो।

सहकारीका अध्यक्ष भेषबहादुर वंशीले भने संस्थाले प्रतिकिलो ३९ मा खरिद गरेको बीउ ढुवानी, भण्डारण खर्च, धान वितरणका निम्ति परिचालित जनशक्तिको खर्च जोडेर ४५ का दरले किसानलाई बिक्री गरेको बताए।

रामपुर–३ का वडाध्यक्ष दामोदर पाठकले अनुदानको बीउ सहकारीले महँगोमा बिक्री गर्नु गलत भएको बताए। ‘किसानलाई राहत दिन नगरले अनुदान दिएको हो, सहकारीलाई नाफा कमाउन होइन’, उनले भने,‘यसबारे संस्थासँग जानकारी माग्छौँ।’

रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेय नेपाल सरकारले तोकेको मूल्यका आधारमा प्रतिकिलो ७८ पर्ने धानलाई ५० प्रतिशत अनुदानमा ३९ रुपैयाँमा बिक्रीका लागि अनुमति दिई कृषि सहकारी, समूह र कृषकलाई उपलब्ध गराएको बबताउँछन् । 

सो सहकारीलाई नगरपालिकाले पाँच हजार ५०० किलो बीउ उपलब्ध गराएको थियो। नगरभित्र २० टन सावित्री, साढे चार टन साँवा मन्सुली, बहुगुडी २ र केही सुनौलो सुगन्ध गरी करिब २६ टन बीउ वितरण गरिएको छ। चालु आर्थिक वर्षमा संघीय सरकारको सशर्त अनुदान कार्यक्रमअन्तर्गत उन्नत जातमा अनुदान दिने कार्यक्रमअनुसार किसानको मागको आधारमा साबित्री र साँवा मन्सुली जातको बीउ वितरण गरिएको हो। 

रामपुरमा अन्य केही सहकारी समूहले पनि प्रतिकिलोमा दुईदेखि चार रुपैयाँसम्म ढुवानी मूल्य जोडेर बीउ बिक्री गरेको पाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.