|

काठमाडौं : नेपाली कांग्रेस निकट श्रमिकको छाता संगठन नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलन यही जेठ २९ र ३० गते काठमाडौँमा हुने भएको छ।

ट्रेड युनियन कांग्रेसको केन्द्रीय कार्यालय अनामनगरमा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आइतबार र सोमबार प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो । 

ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष एवं सम्मेलन प्रचारप्रसार समितिका संयोजक अजयकुमार राईले दुई दिन चल्ने सम्मेलनमा देशभरबाट एक हजार ६०० प्रतिनिधि सहभागी हुने जानकारी दिए।

सम्मेलनको पहिलो दिन उद्घाटन सत्रमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, पार्टीका नेता डा. शेखर कोइराला, गृहमन्त्री बालकृष्ण खाँणलगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

सम्मेलनको पहिलो दिन योगदानमा आधारित सामाजिक सुरक्षाबारे विषयगत सम्मेलन र कार्यस्थलमा हुने हिंसा तथा दुर्व्यवहारसम्बन्धी आईएलओ महासन्धि–१९० बारे विषयगत सम्मेलन हुनेछ ।

दोस्रो दिन बन्दसत्रमा महँगीका कारण श्रमिकमा परेको प्रभाव, नेपाल ट्रेड युनियन कांग्रेसको विधान संशोधनलगायतको बारेमा छलफल हुने प्रचारप्रसार समितिका संयोजक राईले जानकारी दिए

ट्रेड युनियन कांग्रेसको विधानमा राष्ट्रिय महाधिवेशन सम्पन्न भएको दुई वर्षभित्र राष्ट्रिय सम्मेलन सम्पन्न गर्नुपर्ने प्रावधान भएपनि कोरोना महामारीका कारण उक्त सम्मेलन महाधिवेशन सम्पन्न भएको चार वर्षपछि हुन लागेको हो।  महाधिवेशन हरेक चार वर्षमा हुने विधानमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.