‘रुस-युक्रेन युद्धका कारण श्रम बजार प्रभावित भयाे’

|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले चाहेअनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताएका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको आइतबारबाट काठमाडौंमा शुरु भएको राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले कांग्रेसको एकलौटी सरकार नभएकाले नेपाल ट्रेड युनियन कांग्रेसले धेरै माग गर्न नमिल्ने बताएका हुन्। 

उनले भने, ‘तपाईंहरूले एउटा कुरा के बुझ्नु पर्‍यो भने यो कांग्रेसको एकलौटी सरकार होइन। यो नबुझिकन तपाईंहरूले धेरै माग गर्ने अवस्था छैन। तपाईंहरूले अरु कतिपय अति महत्वपूर्ण विषय उठाउनु भएको छ। कतिपय बजेटमा आएका पनि छन्। छैनन भने पनि हामीहरू त्यसलाई पूरा गर्नेछौं। कोभिड १९ महामारीका कारण २ वर्षयता मुलुकको औद्योगिक, व्यावसायिक क्षेत्रमा भएको आएको संकुचनले श्रम बजार प्रभावित पारेको हामी सबैलाई थाहा नै छ।’ 

उनले श्रमिकहरूको हक, अधिकारको सुरक्षा र उनीहरूलाई आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ संकल्पित रहेको बताए। नेपालको संविधान र कानुनले श्रमिकहरूको हक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै त्यसलाई पूर्ण रुपमा कार्यान्वयन गराउन पनि सरकार प्रतिबद्ध रहेको बताए। 

पछिल्लो समय रुस-युक्रेन युद्धका कारण श्रम बजार प्रभावित भइरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा श्रमिकहरूको समस्या समाधानका लागि सम्बन्धित सबै पक्षले ध्यान दिन जरुरी रहेको बताए। 

‘नेपालको संविधानले श्रमिकको हकलाई मौलिक हकको रुपमा स्थापित गर्दै प्रत्येक मजदुरलाई उचित श्रम अभ्यास र उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकको प्रत्याभूति गरेको छ। यसैगरी प्रत्येक श्रमिकलाई कानुन बमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने र सामूहिक सौदाबाजी गर्ने हकको सुनिश्चितता गरेको छ‚’ उनले भने, ‘संविधान तथा प्रचलित कानुनमा श्रमिकको हकलाई पूर्ण रुपमा कार्यान्वयन गराउन सरकार प्रतिबद्ध छ। वर्तमान सरकार श्रमको सम्मान गर्दै सबै श्रमिकलाई सुरक्षित र मर्यादित रोजगारी उपलब्ध गराउन दृढ संकल्पित छ।’

प्रधानमन्त्री देउवाले श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जनाए। सरकारले सामाजिक सुरक्षा कोषबाट सबैभन्दा बढी श्रमिकहरू नै लाभान्वित हुने विश्वास लिएको लिएको समेत बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.