|
प्रतीकात्मक तस्विर

राँझा : धानमा हाल्ने रासायनिक मल नपाउँदा बाँकेका किसान चिन्तित छन्। अबको केही दिनमा रोपाइँ गर्नुपर्ने यहाँका किसानले ब्याडमा चाहिने मल समेत प्राप्त गर्न सकेका छैनन्। 

नेपालगञ्ज–१८ लग्दहवाका मनोजकुमार सोनकर ब्याडमा मल हाल्न नपाए बीउ उत्पादनमा कमी आउने बताउँछन्। ब्याडमा हाल्ने मल खरिदका लागि दैनिक सयौँ किसान नेपालगञ्जस्थित कृषि सामग्री कम्पनी पुग्ने गरेका छन्। उनीहरू रित्तो हात घर फर्किन बाध्य छन्।

बीउमा हाल्ने मल नपाएपछि यहाँका किसान भारतीय बजार धाउन बाध्य भएको डुडुवा गाउँपालिका–६ हिरमिनियाका सावितराम यादवले बताए। मुख्य बाली धानको ब्याडमा मल हाल्न नपाउँदा किसान चिन्तित भएको उनको भनाइ छ। 

कृषि सामग्री कम्पनीमार्फत किसानलाई वितरण गरिने अनुदान सहुलियतको मल पर्याप्त आएको छैन। बाँकेमा धान खेतीका लागि एक हजार २०० मेट्रिक टन डीएपी, तीन हजार मेटिक टन युरिया र ५० मेट्रिक टन पोटास मल आवश्यक पर्छ। कार्यालय प्रमुख रमेश पौडेलले न्यून परिमाणमा मात्र मल प्राप्त भएको बताए।

हाल ३३५ टन डिएपी मल प्रदेश कार्यालय भैरहवाबाट प्राप्त भएको र सोहीअनुसार आउने क्रममा रहेको उहाँले बताउनुभयो । युरिया तथा पोटास धान रोपाइँको समयमा आउने प्रदेश कार्यालयले जनाएको छ। कार्यालयले बाँकेका १०७ सहकारी संस्थामार्फत किसानलाई मल वितरण गर्दै आएको छ। 

जनकल्याण सहकारी संस्था कोहलपुरका अध्यक्ष हरिबहादुर श्रेष्ठले प्रदेश कार्यालय भैरहवाबाट प्राप्त भएको मल सबै स्थानीय तहमा वितरण गरिरहेको भए पनि आवश्यकता भन्दा न्यून भएको बताए। किसानलाई कसरी मल वितरण गर्ने भन्ने समस्या भएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.