आगामी वर्ष थप एक सय विद्यालयमा कार्यक्रम विस्तार गरिँदै

|

काठमाडौं : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै कार्यक्रम’ का लागि स्थानीय तहलाई बजेट पठाएको छ। स्रोत विकास केन्द्रका अनुसार छनोट भएका १ सय ४० सामुदायिक विद्यालयका लागि सम्बन्धित स्थानीय तहमा १० लाख रूपैयाँका दरले पठाइएको छ। यसका लागि १४ करोड रूपैयाँ विनियोजन भएको छ।

स्रोत विकास केन्द्रका सूचना अधिकारी सुरेशकुमार जोशीले यसै वर्ष पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन हुने जानकारी दिए। ‘सम्बन्धित स्थानीय तहमा वित्तिय हस्तान्तरण भइसकेको छ,अब स्कुलले जे प्रपोजल पेश गरेका छन्, त्यहीअनुसार यही वर्षबाट कार्यक्रम शुरु गर्छन्,’ उनले भने।

उनले शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी भविष्यमा उद्यमी बनाउन कार्यक्रम ल्याएको बताए। व्यावसायिक, सीपयुक्त एवं स्वावलम्बी नागरिक बन्न सहयोग पुर्‍याउने पनि सरकारको लक्ष्य छ।

​‘यो विद्यार्थीकेन्द्रित कार्यक्रम हो, विद्यालयमा विद्यार्थीले सिकेको कुरालाई प्रयोगात्मक रुपमा सिकुन् र आर्य आर्जन पनि गरुन् भनेर कार्यक्रम ल्याइएको हो,’ स्रोत विकास केन्द्रका सूचना अधिकारी जोशीले भने।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो कार्यक्रमका लागि गत पुस २७ गते ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि २०७८’ जारी गरिसकेको छ। कार्यविधिअनुसार छनोट भएका विद्यालयले कृषि (बाली विज्ञान/पशु विज्ञान/बागवानी), इन्जिनियरिङ (सिभिल/इलेक्ट्रिकल/कम्प्युटर), पर्यटन तथा हस्पिटालिटी कार्यक्रम चलाउन पाउनेछन्।

वन तथा वातावरण, निर्माण, अटोमोबाइल, व्यावसायिक कीट (मौरीपालन, च्याउ खेती र रेशम खेती) गर्न विद्यालयहरूले सशर्त अनुदान पाउनेछन्।

स्रोत विकास केन्द्रका प्रवक्ता डिल्लीराम लुइँटेलले प्राविधिक विधामा अध्ययन गर्ने कक्षा–१२ सम्मका विद्यार्थीले यो कार्यक्रममा भाग लिन पाउने बताए। गरिबीको रेखामुनि रहेका लगायत अन्य वर्गका विद्यार्थी यसबाट लाभान्वित हुने उनको भनाइ छ। 

उनका अनुसार सरकारले छुट्याएको बजेट विद्यार्थीले पाउँदैनन्। कार्यक्रम विद्यालयले चलाउँछ। जति विद्यार्थीले यो कार्यक्रमभित्र रही वस्तु उत्पादन गर्छन् र बिक्री वितरण हुन्छ। त्यही आधारमा उनीहरूले पैसा पनि पाउँछन्, ‘व्यावहारिक ज्ञान सिक्ने त छँदै छ, योसँगै विद्यार्थीहरूले आर्थिक आम्दानी गर्छन्,’ उनले भने।

अर्को वर्ष थप सय विद्यालयमा विस्तार गरिने 

गत भदौमा अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै प्राविधिक विधामा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई ‘पढ्दै कमाउँदै कार्यक्रम’ सबै प्रदेशका केही विद्यालयमा नमुनाका रूपमा शुरुवात गरिने घोषणा गरेका थिए।

सरकारले यो कार्यक्रम थप सय विद्यालयमा विस्तार गर्ने घोषणा गरेको छ। अर्थमन्त्री शर्माले गत जेठ १५ गते आव २०७९/८० बजेट प्रस्तुत गर्दै हाल १४० वटा विद्यालयमा सञ्चालित पढ्दै कमाउँदै कार्यक्रमलाई थप सय वटा विद्यालयमा विस्तार गर्न आवश्यक बजेट विनियोजन गरेको बताएका छन्।

स्रोत विकास केन्द्रका सूचना अधिकारी जोशीले आगामी वर्षबाट मात्र मात्रै थप यी तोकिएका विद्यालयहरुमा कार्यक्रम शुरु गर्ने बताए।

‘यो परीक्षणका लागि कार्यक्रम शुरु गरिँदै छ, प्रभावकारी बन्छ भन्ने अपेक्षा छ, अहिले घोषणा भएका विद्यालयमा कार्यक्रम चलाउन आगामी वर्षबाट मात्रै प्रक्रिया शुरु हुन्छ,’ उनले भने। सरकारले आव ०७९/८० को लागि शिक्षामा ७० अर्ब ५ करोड बजेट विनियोजन गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.