यही अधिवेशनबाट नाम टुंगो लाग्नुपर्छ

|

विराटनगर : प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले आफ्नो कार्यकालमा प्रदेशको नाम टुंगो लगाउन नसक्दा खिन्न भएको बताएका छन्।

विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरि आफ्नो कार्यकालमा प्रदेशको नाम टुंगो लगाउन नसक्दा सन्तुष्ट नभएको बताउँदै उनले यही अधिवेशनबाट नाम तय गर्नुपर्नेमा जोड दिएका छन्।

उनले नाम मुख्यमन्त्रीले तोक्ने विषय नरहेको तथा प्रदेशसभाको अधिकार क्षेत्रभित्र पर्ने भएकाले र दुई तिहाइको बहुमतले पारित गर्नुपर्ने भएका कारण पनि नाम टुंगो लगाउन नसकेको बताउँदै उनले राजधानी टुंगो लगाउने सन्दर्भमा सहजीकरण गरेको भए पनि नामकरणसम्बन्धी दलभित्र नै एकमत नभएकाले नामको विषय माइन्युट गरेर थाँती राखेको बताए।

उनले अहिलेको सरकारले नाम टुंगो लगाउने प्रतिबद्धता जनाएको भए पनि छलफलमा नआएपछि एमाले संसदीय दलको बैठक बसेर प्रदेशको नाम राख्न पहलकदमी थालिएको बताए।

‘मुख्यमन्त्रीज्यूले त प्रदेशको नाम तुरुन्तै आउँछ भन्नु भएको थियो,’ उनले प्रदेश १ मुख्यमन्त्री राजेन्द्र राईलाई उद्धृत गर्दै भने, ‘उहाँले नाम राख्न नसके मुख्यमन्त्री पद नै छोड्छु भन्ने पनि भन्नुभएको थियो तर उहाँबाट छलफलमा नआएपछि हामीले पहल थालेका हौँ।’

उनले प्रदेशको नामकरण यही अधिवेशनबाट टुंगो लगाउनु पर्नेमा जोड दिँदै नेपाली काँग्रेस नामकरणको विषयमा सकारात्मक रहेको दाबी गरे। नामका बारेमा केही दिनमा निष्कर्षमा पुग्ने  बताउँदै उनले एमालेभित्र केही समस्या नहरको दाबीसमेत गरे।

‘एकपटक पार्टीभित्र छलफल गरेर धारणा तयार गर्ने र नेपाली काँग्रेस लगायतका दलसँग सम्वाद चलिरहेको छ,’ उनले भने, ‘र केही समयपछि साझा धारणा ल्याएर प्रक्रियामा जान्छौँ।’

यसअघि मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाको बजेट अधिवेशनलाई सम्बोधन गर्दै  एमाले ठूलो दल भएकाले प्रदेश नामकरणको विषयमा एमालेले नेतृत्व लिनुपर्ने बताएका थिए।

बजेटको प्रसंगमा  पूर्वमुख्यमन्त्री राईले जस्तो सरकार उस्तै बजेट आएको धारणा व्यक्त गरे। उनले गन्तव्यविहीन सरकारले आफूजस्तै बजेट ल्याएको बताए। उनले प्रदेशका गौरवका सडक निर्माणजस्तो विषय बजेटमा आउनुपर्ने भए पनि नआएको बताए। बजेट प्राथमिकतामा नआएको र मान्छेलाई अल्मल्याउनुबाहेक अरु केही नभएको उनले बताए। उनले यो बजेट चुनावलाई ध्यानमा राखेर जनतालाई अलमल्याउने र कार्यकर्ता पोस्ने आएको टिप्पणी गरे।

फरक प्रसंगमा साना दलहरू मौका पाउनासाथ सरकार परिवर्तन गर्न अघि सर्ने गरेको आरोप लगाउँदै उनले दुई ठूला पार्टी अस्थिरता अन्त्यका लागि सिस्टममा जानुपर्ने बताए। स्थानीय तह निर्वाचनले पनि सोही संकेत गरेको उनको तर्क थियो। उनले गठबन्धनको नाममा लोकतान्त्रिक मूल्य मान्यताको खिल्ली उडाएको बताए।

‘जसरी पनि जित्नुपर्छ नेकपा एमालेको मान्छेले काँग्रेस भएर जित्नुपर्छ, काँग्रेसले माओवादी भएर जित्नुपर्ने हो कि अथवा कसले कुन पार्टी भएर चुनाव चिह्न लिएर  जित्नुपर्ने हो,’ उनले भने, ‘जित्नका लागि जे पनि गर्न पाइने र मिल्ने र गर्नुपर्छ भन्ने खालको देखा परेको छ‚ यो वास्तवमा राम्रो कुरा होइन चिन्ताको विषय हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.