|

बागलुङ : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा बागलुङका केही योजनालाई महत्त्वपूर्ण रूपमा समावेश गरेको छ। गण्डकी प्रदेशसभामा गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९।०८० को बजेट वक्तव्यमा उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजनालाई अगाडि बढाउन पहल गर्ने, धौलागिरी अस्पतालमा सिटीस्क्यान सेवाका लागि १० करोड बजेट विनियोजन गर्ने र पञ्चकोटलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने भएको छ। जसका लागि बजेट विनियोजन गरेको अर्थमन्त्री बरालको भनाइ छ।  

बेलढुङ्गा हुँदै पञ्चकोट पुग्ने पर्यटकीय पदमार्ग र ढोरपाटन र ताराखोलाको आलु पकेट क्षेको विकासका लागि आवश्यक बजेट विनियोजन गरेको अर्थमन्त्री बरालले संसदमा जानकारी गराएका थिए। प्रदेश सरकाले आगामी वर्षको बजेट तथा कार्यक्रममा उत्तरगंगा जलाशययुक्त आयोजना निर्माणका लागि प्रदेश सरकारले पहल गर्ने उल्लेख छ।  

नेपालकै नमुना आयोजना भएकाले यो आयोजना तत्काल शुरु गर्न नेपाल सरकारसँग पहल थालिने गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बताए। यद्यपि उत्तरगंगा आयोजनामा संघीय सरकारको बजेट मौन छ। उत्तरगंगा जलाशययुक्त जलविद्युत् आयोजना ८२८ मेगावाट विद्युत् उत्पादन गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन तयार भएको नेपालकै नमुना र सस्तो आयोजना हो। 

उत्तरगंगा जलविद्युतलाई किन प्राथमिकतामा नराखेको भन्दै बजेटको विषयमा संघीय सरकारको संसदमा बागलुङका संघीय सांसद डा.सूर्य पाठकले प्रश्न समेत गरेका थिए। गण्डकी प्रदेश सरकारले धौलागिरी अस्पताललाई गण्डकी उपप्रादेशिक अस्पतालका रूपमा विकास गर्ने गरी नीति तथा कार्यक्रममा समावेश गर्दै प्राथमिकताका साथ स्वस्थ्य सेवाको गुणस्तर थप गर्दै आएको छ। 

अस्पताललाई हाल २०० शय्याको अस्पताल बनाउन प्रदेशले उपकरण र पूर्वाधारमा सहयोग गर्दै आएको छ। अस्पतालमा आइसियु सेवा सञ्चालनका लागि समेत गण्डकी प्रदेश र संघीय सरकारले सहयोग गरेको थियो। सिटी स्क्यान खरिदका लागि रु. १० करोड बजेट व्यवस्थापन गरिएको अर्थमन्त्री बरालले बताए।  

अस्पतालमा सिटी स्क्यान सेवा भएमा ब्रेन स्टोकका बिरामी, दुर्घटनामा टाउकोमा चोटपटक लागेकालाई तत्कालै सिटी स्क्यान गरेर प्रभावकारी उपचार गर्न सकिने धौलागिरी अस्पताल बागलुङका प्रमुख सुपरीटेण्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए। 

यस्तै गण्डकी सरकारले यो वर्षको नीति तथा कार्यक्रममा कृषि, सामाजिक सुरक्षा र स्वास्थ्यलाई जोड दिइएको छ। बागलुङको पञ्चकोटलाई पर्यटनको गन्तव्यका रूपमा विकास गर्न प्रदेश सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जनाएको छ। 

प्रदेश सरकारले गत वर्षदेखि शुरु भएको बेलढुङ्गा–पञ्चकोट पर्यटकीय पदमार्ग निर्माणलाई निरन्तरता दिने भएको छ। गत वर्ष २० लाख रकमबाट पदमार्ग निर्माणको थालनी भएको थियो। २० लाखबाट एक किलोमिटर पक्की र एक किलोमिटर कच्ची पदमार्ग निर्माण भएको थियो। अहिले सरकारले प्राथमिकताका साथ पदमार्ग निर्माण गर्ने गरी बजेट विनियोजन गरेको छ। 

बागलुङका दलित अधिकारकर्मी नेता स्व. भगत सर्वजित विश्वकर्माका नाममा गण्डकी प्रदेश सरकारले भगत सर्वजीत सीप विकास कार्यक्रम सञ्चालन गर्ने र जसलाई ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ। यस्तै ढोरपाटन शिकार आरक्षबाट प्राप्त हुने आम्दानीलाई प्रदेश सरकारको सञ्चित कोषमा जम्मा गर्ने नीति लिएको बजेट तथा कार्यक्रममा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.