|

काठमाडौं :  सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको पुष्टि भएको दाबी गरेका छन्।

महामन्त्री शर्माले प्रमुख प्रतिपक्ष दल एमालेले आफ्नो पार्टी कांग्रेसलाई आक्षेप लगाउने ढंगले संसदमा बोले पनि त्यसको २४ घण्टा नबित्दै सो प्रोग्राम ओली नेतृत्वकै सरकारले अघि बढाएको खुल्न आएको बताए।

उनले कूटनीतिक मर्यादाविपरीत सो प्रोग्राममा सामेल भएर नेपाली सेना पनि विवादमा पहिलो पटक सामेल भएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।

नेपाल शिक्षक संघ, ललितपुरले शनिबार पाटनढोकामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो प्रोग्राम राष्ट्रको हितमा नभएकाले अघि नबढाउने कुरा प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट पारिसकेको उल्लेख गर्दै नेपालले मुलुकको हित विपरितका कुनै पनि सन्धि, सम्झौता नगर्ने दोहोर्‍याए।

महामन्त्री शर्माले नेपालले अमेरिका, भारत, चीन कुनै पनि मुलुकबाट देश र जनताको हितका लागि सहयोग लिन सक्ने तर सैन्य गतिविधिमा भने कहिल्यै पनि सहभागी नहुने बताए।

उनले भने, ‘अहिले एसपिपी जो आएको छ। तपाईँहरु सबैले हेर्नु भो। यसले २÷३ वटा कुरालाई सार्वजनिक रुपमा क्लियर गरेको छ। एउटा, हामी कति कूटनीति अभ्यासको बारेमा गम्भिर रहेनछौं। कुनै पत्र लेखिन्छ। पत्र लेखिँदै गर्दा पत्र पुगिसक्छ। पत्र पाउनेले पाइसक्छ। लेख्नेले लेखिसक्छ। न तपाई थाहा पाउनु हुन्छ, न म थाहा पाउँछु। न सरकारले थाहा पाउँछ। अनि संसदमा उभिएर कसैले आक्षेप लगाउने ढंगले भनि दिनुहुन्छ–हामीले त रोक्ने प्रयत्न गरेका थियौं, काँग्रेस गम्भिर भएन भनेर भनी दिनुहुन्छ। २४ घण्टा पुग्दै गर्दा थाहा हुन्छ, जसले त्यसरी खरो स्वरमा बोल्नुभयो। उहाँहरुकै पालामा त्यसरी लेखिएको रहेछ। त्यसैले अहिले प्रश्न एसपिपी आयो र गयो भन्ने होइन। यो खालको प्रवृत्ति एउटा समुन्नत राष्ट्र बन्नका लागि, सफल बन्ने राष्ट्रका लागि सुन्दर संकेत होइन।' 

महामन्त्री शर्माले एसपिपीबारे राष्ट्रिय एकतालाई कमजोर बनाउने गरी अभिव्यक्ति नदिन पनि राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण गराए। कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरको शैक्षिक क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे।

मेयर महर्जनले अघिल्लो कार्यकालमा आफूले गल्ती नगरेकै कारण यहाँले जनताका आफूलाई पुनः निर्वाचित गरेको उल्लेख गर्दै अब झनै गतिशील भएर काम गर्ने बताए।

उनले ललितपुर जिल्ला शैक्षिक हर्वको रुपमा रहेको उल्लेख गर्दै त्यहाँको सामुदायिक विद्यालयको पनि शैक्षिक गतिविधिलाई उन्नत बनाउन आफूले विज्ञहरुसँग परामर्श गरेर काम गरिरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.