|

सल्यान : जिल्लाको कपुरकोट गाउँपालिका ३ दमारगाउँका थमन गिरी ८ वर्षअघि रोजगारीका लागि विदेश हानिए। गाउँका धेरै मानिस स्वदेशमै जीविकोपार्जनको उपाय नभएपछि विदेश जाने क्रम चलिरहेको थियो। स्वदेशमै रोजगारी पाइन्छ कि भन्ने आशामा बसेका गिरी धेरै प्रयास गर्दा पनि रोजगारी नपाएपछि अन्ततः विदेश जान बाध्य भए।

१० वर्ष मलेसिया बिताएका गिरीले समान बजारीकरण तथा बिक्री वितरण सम्बन्धी काम पाए। बुवाको निधन भएपछि स्वदेश आएका उनी त्यसपछि भने फर्किएनन्। अर्काको मुलुकमा गर्ने मेहनत आफ्नै ठाउँमा गर्नु पाए हुन्थ्यो भन्ने सोचे। २०७१ मा विदेशबाट फर्किए पछि व्यवसायिक कृषि कर्म थाले।

‘विदेशमा रहँदा मेहनत कति गर्नुपर्ने रहेछ भन्ने थाहा भयो’ उनले भने ‘विदेशमा गर्ने मेहनत आफ्नै देशमा गर्छु भनेर कृषिमा लागेको हूँ।’ विदेशबाट फर्किएका गिरी अहिले स्वदेशमै कृषि पेशामा जमेका छन्। उनले आफ्नै २० रोपनी जमिनमा मौसमी तथा बेमौसमी तरकारी खेती गरिरहेका छन्। 'नेपाल तरकारीमा आत्मनिर्भर छैन। सम्पूर्ण तरकारी भारतबाटै ल्याउनु पर्छ', उनले भने ‘विदेशमा सिकेको सीपले स्वदेशमा काम गर्न सघाउ पुगेको छ।’

२० रोपनीमा १९ वटा फलामका र १७ वटा काठका प्लाष्टिक घर निर्माण गरी बेमौसमी तरकारी खेती गरिरहेका छन्। बाँकी ५ रोपनीमा खुल्ला खेती गरिरहेको उनको भनाई छ। वर्षातको समयमा तराई टमाटरको अत्याधिक माग हुने भएकाले उनले अधिकांश जमिनमा टमाटर लगाएका छन्। बाँकी क्षेत्रमा बन्दा र भेँडे खुर्सानी लगाएका छन्।

उनले भने, ‘वर्षाको समयमा तराईमा डुबान पर्ने भएकाले टमाटरको माग धेरै हुने गरेको छ। त्यसैले मैले धेरै जमिनमा टमाटर लगाएको छु।’ यो वर्ष तरकारीले पनि राम्रो मूल्य पाएको उनको भनाई छ। हाट बजारबाट टमाटर र बन्दा प्रतिकिलो ६० देखि ६५, भेँडे खुर्सानी ७० देखि ७५ किलोसम्म बिक्री भइरहेको उनको भनाई छ।

वार्षिक ९ लाख आम्दानी 

तरकारी खेतीबाट गिरीले मनग्गे आम्दानी गरिरहेका छन्। एक सिजनमा ७ देखि ९ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए। प्लाष्टिक घर भएकाले एउटा तरकारीको खेती सकिएपछि अर्को गरिन्छ। त्यहाँबाट सिजनमा ७ देखि ९ लाख आम्दानी हुन्छ। उनले भने, ‘धेरै मेहनत गर्न सक्यो भने त वार्षिक १०/११ लाखसम्म आम्दानी हुन्छ।’

यो वर्ष ३० लाख आम्दानी गर्ने लक्ष्य

विगतमा वार्षिक ९ लाखसम्म आम्दानी गर्दै आइरहेका गिरीले यो वर्ष भने वार्षिक ३० लाखसम्म आम्दानी गर्ने लक्ष्य राखेका छन्। गत वर्षतिर थोरै क्षेत्रफलमा तरकारी खेती गरेको बताउँदै उनले यो वर्ष २० रोपनीमा तरकारी खेती गरेकाले ३० लाखसम्म आम्दानी हुने अनुमान गरेको उनको भनाई छ। उनले भने ‘यो वर्ष तरकारीको क्षेत्रफल पनि बढाएको छु, त्यससँगै तरकारीले पनि राम्रो मूल्य पाइरहेको छ। पछिसम्म तरकारीले यही मूल्य पायो भने ३० लाखसम्म आम्दानी हुने अनुमान गरेको छु।’

काम बढी भएको समयमा दैनिक ज्यालादारीमा समेत मानिसलाई काममा लगाउने गरेको गिरीले बताए। कामको खोजीमा विदेशिनेहरुलाई स्वदेशमै उद्यम गर्न उनको सुझाव छ। विदेशमा अर्काको काम गर्नुभन्दा स्वदेशमै आफ्नै उद्यम गर्नु उपयुक्त छ। उनले भने ‘त्यहाँ गर्ने मेहनत आफ्नै ठाउँमा गरेमा विदेशको जस्तै कमाई यहीँ पनि गर्न सक्छौँ।’

लामो समयसम्म तरकारी व्यवसायले गिरीलाई सामान्य रोग किरा र समाधानका उपायसम्बन्धी पनि ज्ञान भएकाले कुनै समस्या आइलागेका बखत कृषि सेवा केन्द्रसम्म पनि धाउनु छैन र बजारको राम्रो सुविधा भएकाले व्यवसाय गर्न पनि सजिलो भएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.