|

कञ्चनपुर : शनिवारका दिन साँझको पाँच बज्दै थियो। दिउँसोको ड्युटी सकेका देखतभूली स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी घर जाने सुरसारमा थिए। एकाएक स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको मोवाईलमा घण्टी बज्यो।

मोवाईलमा फोन गर्ने महिलाले हतारिँदै एक जना महिला सुत्केरी हुन नसकेर खेतमै छट्पटाई रहेको र छिटो आउनका लागि आग्रह गरिन्। फोन गर्ने महिलाले नै बच्चाको हात बाहिर आएको कुराको जानकारी स्वास्थ्यकर्मीलाई गराइन्।

‘त्यो सुनेपछि सुत्केरी हुन नसकेकी महिला र शिशुको ज्यान जोगाउने कुरा मात्रै मनमा खेल्न थाल्यो‘ स्वास्थ्य चौकीका स्वास्थ्य अधिकृत लिलाकान्त झाले भने, ‘हतार हतारमा प्रसूति गराउनका लागि आवश्यक सामग्री बोकेर त्यस तर्फ लाग्यौँ।’ ‘स्वास्थ्य चौकीमा सुरक्षित प्रसूति गराउनका लागि आउने क्रममा महिलालाई प्रसव व्यथाले च्यापेपछि खेतमै बस्नु भएको रहेछ’ अधिकृत झाले भने, ‘प्रसव व्यथाले च्यापेकी महिलासँगै केही अरु महिला पनि थिए। ती महिलाहरुले प्रसूति हुने महिलालाई घेरेर राखेका थिए'।

'खेतमा गहुँ काटेका नलहरु छरपस्ट रुपमा थिए। खेतमै सुरक्षित ठाउँको खोजी गरी प्रसव पीडाले छट्पटाउँदै गरेकी महिलालाई राख्यौँ। शिशु उल्टो अवस्थामा थियो। हात र कम्मर अड्केको अवस्थामा थियो। शिशुलाई कसरी निकाल्ने भन्ने बारे खेतमै छलफल गर्‍यौँ। तुरुन्तै शिशु ननिकाले आमाको ज्यानलाई समेत जोखिम थियो। जोखिम मोलेर शिशुलाई बाहिर निकाल्यौँ।’, उनले भने।

‘शिशुको शरीर नीलो भैसकेको थियो। कृत्रिम श्वासप्रश्वास दियौँ। माउथ टु माउथ र एम्बु व्यागबाट श्वासप्रश्वास दिने क्रम जारी राख्यौँ। आधा घण्टाको प्रयास पछि शिशुले श्वास फेर्न शुरु गर्‍यो। रुन थाल्यो। शिशु र आमाको ज्यान जोगाउन पाएकोमा मनमनै निकै खुशी थियौँ। सबैले आश मारिसकेका थिए। शिशु बाँच्दैन भन्थे। शिशु र आमाको ज्यान जोगियो, यो हाम्रा लागि ठूलो उपलब्धीका रुपमा रहेको छ।', त्यो क्षण हाम्रा लागि कहिल्यै नभुल्ने घटनाका रुपमा सधैँ ताजा रहने छ’, अधिकृत झाले भने।

उनी भन्छन्, ‘म र मेरो टिमले जटिल प्रसूति सफलतापूर्वक गरी आमा र शिशुको ज्यान जोगाएका छौँ। यस कार्यका लागि खटिने स्वास्थ्यकर्मी विनिता र उषा धन्यवादका पात्र छन्।’

चर्को गर्मीका बीच छाता ओढाएर सुरक्षित रुपमा खुल्ला ठाउँमा प्रसूति गराएको पहिलो घटनाका रुपमा रहेको उनी बताउँछन्। प्रसूति गराएकी आमा र शिशुलाई स्वास्थ्यकर्मीकै सहयोगमा सेती प्रादेशिक अस्पतालमा पठाईएको छ।

कृत्रिम श्वासप्रश्वास दिएका शिशुलाई २४ घण्टा आइसियुमा राख्नु पर्ने भएकाले अस्पतालमा पठाईएको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले जानकारी दिए। अहिलेसम्म आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.