|

नेपाली खेलकुदमा अहिले एन्फा चुनावको सरगर्मी उत्कर्षमा छ। साविक एन्फा चुनावभन्दा यो पटकको चुनावका केही साझा विशेषता छन्। लामो समय फुटबलमा नै सँगै हिँडेका वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ अबको अध्यक्षका प्रत्याशीका रूपमा रहेका छन्।

लामो समय एकै प्यानलमा रहेका र अझ अघिल्लो निर्वाचनमा गणेश थापाको विरासत अन्त गर्न सामूहिक रूपमा निर्वाचनमा होमिएर फराकिलो जित निकालेको यो जोडी निर्वाचनमा प्रतिनिधिले मात्र होइन‚ समग्र फुटबल प्रेमीको विश्वासलाई कायम राख्न भने पूर्ण असफल मात्र भएन। एक अर्काविरुद्ध सार्वजनिक आरोप प्रत्यारोपमा उत्रिए र अहिले एक अर्कालाई हराउन प्यानलै खडा गरेर चुनावी मैदानसम्म पुगे।​

मिठो विगत तितो यथार्थ

गणेश थापाले २२ वर्ष लामो नेपाली फुटबलमा गरेको राजको अन्त्य गर्न एकताबद्ध हुँदा शेर्पासँग हातेमालो गर्दाको मिठो विगतलाई अब कार्यकारी भूमिकामा आफू पुगेसँगै विद्रोही छवि भएका यी दुईभित्र एन्फाको शक्तिको ताप थेग्न सक्ने क्षमता रहेन। फुटबल विकासका लागि 'चेन्ज एन्फा'को नारा लिएर सत्तामा पुगेका यी दुईबीच फुटबलको 'सत्ता स्वार्थ' नमिल्दा अध्यक्ष शेर्पा सत्ता पक्ष र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ प्रतिपक्ष जस्तै रहे।

आन्तरिक रूपमा उनीहरूको भागबन्डा नमिल्दा छुट्टिएका यी दुईले फुटबल विकासको एजेन्डामा कुरा नमिलेर छुटिएका हैनन् कि ठूला प्रोजेक्टहरू आफूले चलाउन पाउनुपर्ने कुरा र एन्फाभित्रको शक्ति सन्तुलनमा आफूलाई माथि राख्ने प्रयासमा उनीहरूबीच फाटोको शुरुवात भयो। जुन कार्यकालभर साम्य भएन उत्कर्षमा पुग्यो। अन्ततः अब यी दुईले यात्रा फरक बनाएका छन्।​

कसको पल्ला भारी?

स्वभाविक रूपमा बलियो खेमा फुट्दा कस पल्ला भारी होला? यस्तोमा निर्णायक भनेको कमजोर भए पनि विपक्षी हुन्छ। अर्थात् एन्फाभित्र गणेश थापा फ्याक्टर अब महत्त्वपूर्ण बन्न सक्छ। यसमा दुई कुरा सतहमा आएका छन्।

पंकजमाथि गणेश थापाको प्रवृत्तिलाई नै विरोध गरेर सत्तामा पुगेको र अब गणेश थापाको सहयोगमै अध्यक्षमा उठ्दा नैतिक प्रश्न उठेको छ। थापा प्रतिबन्धका कारण सतहमा नदेखिए पनि फुटबलमा उनको लामो सत्ताले जन्माएको प्रवृत्तिको पक्षपोषण गर्नेको जमात अहिले पंकजको समर्थनमा छ तर शेर्पा फुटबलको सत्तामा भएकाले स्वभाविक रूपमा शेर्पाको दाबेदारी पनि कमजोर छैन।

पंकजलाई 'थापा प्रवृत्ति' घातक हुन सक्नेछ तर यसको टुंगो फेरि पनि सोमबारको चुनावले नै तय गर्नेछ। यद्यपि पंकज र शेर्पा दुबैले अध्यक्षमा के कारण भोट भन्ने फितला र पुरानै कुरा दोहोर्‍याएकाले पुरानो सत्ताका दुई पुराना खेलाडी नयाँ बन्ने कोसिसका रूपमा अहिलेको एन्फा चुनाव रहेको छ। अर्थात् जसले जिते पनि फुटबल हार्नेछ।

दुबैजनासँग न खेलाडी न समर्थक कसैको पनि अपेक्षा छैन। एन्फाभित्र छिरेर ठेक्कापट्टाको चास्नीमा रमाउने र विदेश भ्रमणमा आफ्नो आधिपत्य जमाउने प्रवृत्तिको जित हुनेछ। अप्ठेरो परेका वेला खेलाडीलाई कसैले सहयोग गर्दैन भन्ने कुरा प्रशिक्षकले खेलाडीमाथि गरेको 'दुर्व्यवहारमा' दुबै पक्ष मुकदर्शक बनेको घटनाबाट स्पष्ट छ।

त्यसैले यो एन्फा चुनावमा उत्साह कम 'राजनीति' बढी छ। यसअघि कर्मा प्यानल र मणि प्यानलका रूपमा चुनावमा जाँदै गर्दा छिरिङले देखाएको विद्रोही छविले फुटबलमा साँच्चिकै परिवर्तन आउला कि भन्ने अपेक्षा गरेकाहरू निराश बने। त्यसो त पंकज पनि सोही छवि बनाएर धुलिसात भइसकेका छन्।

उनले शुरुवातबाटै एन्फामा 'ठूलो भाग' खोज्दा उनी किनारामा परेका थिए। अहिले पंकजलाई नेतृत्वमा ल्याएर फुटबलको हुर्मत लिने जमात उनको मुख्य सहयोगीका रूपमा अघि छन्। त्यसैले नेम्बाङलाई फुटबलको सत्तामा आउनै मुस्किल छ‚ आइहालेमा पनि उनलाई असफल बनाउने प्रयास पहिलो दिनबाटै शुरु हुनेछ। किनकि उनको जमात नै अधिकांश स्वार्थकेन्द्रितहरूको छ।

 

फुटबलको भविष्यको प्रश्न

स्वभाविक रूपमा एन्फा विशुद्ध फुटबलको नियमनकारी निकाय हो। फुटबल विकास उसको एजेन्डा हुनुपर्ने हो अनि खेलाडीले दिलाउने सफलताले एन्फा नेतृत्वको सफलता र असफलतालाई निर्धारण गर्नुपर्ने हो तर यहाँ त्यस्तो छैन।

पहिले पदाधिकारी अनि खेलाडी, एकेडेमी, भौतिक पूर्वाधार भनेको चुनावी नारा मात्रै हुन्। अहिले नेपाली फुटबलमा भइरहेका जित र हारको जश न कर्मा छिरिङले लिन पाउँछन् न पंकजले नै। किनकि यो फुटबल पुस्ता निर्विवाद रूपमा गणेश थापाले बनाएको जगमा उभिएको हो तर कर्माको नेतृत्वमा पाँच वर्षमा के भयो? जवाफ शून्य छ। केही भएन। उमेर समूह कमजोर बन्यो, महिला फुटबल धराशायी रह्यो तर कर्माले फुटबललाई धराशायी चाहिँ बनाएनन्। बनेका संरचनालाई कम्तीमा बिगारेनन्। कार्यकालको उत्तरार्धमा आएका विवादलाई बिर्सने हो भने उनी कम्तीमा खराब भनेर दर्ज भएनन्।

पंकजमाथि भने पर्याप्त प्रश्नहरू छन्। उनीमाथि उमेर समूहमा छोरालाई टोलीमा राख्नुपर्ने हस्तक्षेपदेखि प्रशिक्षक विवादसम्म र आफ्नो समूहका सदस्यले देखाएको हर्कत र एकपछि अर्को फुटबल विकासका नाममा भएका अवरोधको जवाफ पंकजले दिन सक्दैनन्।

त्यसैले फुटबलको भविष्य अब आउने नेतृत्वले यसरी नै सम्हाल्नेछ।केही तात्त्विक फरक हुनेछैन। एन्फामा खराब प्रवृत्ति बढ्नेछ। थप आलस्य हुनेछ। खेलाडी पलायनदर बढ्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.