|

हेटौँडा : हेटौँडा उपमहानगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै विवाद सुरु भएको छ।

तीन दशक लामो नेकपा एमालेको विरासत ढाल्दै उपमहानगरको नेतृत्वमा समाजवादी र कांग्रेसले कब्जा जमाएपछि कार्यपालिकामा विवाद सुरु भएकाे हो।

यसअघि उपमहानगरपालिकाको पहिलो कार्यपालिका बैठक बहिष्कार गरेको नेकपा एमालेले मंगलबार पुनः बहिष्कार गरेको छ। एमालेले कार्यपालिका बैठक सञ्चालन कार्यविधिका केही बुँदा संशोधन गर्नुपर्ने माग राख्दा गठबन्धनबाट विजयी जनप्रतिनिधिले अस्वीकार गरेपछि बैठक बहिष्कार गरिएकाे हो।

मंगलबार नीति तथा कार्यक्रम सम्बन्धी छलफल गर्न बोलाइएको कार्यपालिका बैठकमा एमालेले साे प्रस्ताव गरेको थियो। २९ कार्यपालिका सदस्य मध्ये १८ सदस्य रहेको एमालेले बैठक सञ्चालन कार्यविधि २०७४ को १५(२) र १५(३) मा रहेको व्यवस्थालाई संसोधन गरिनुपर्ने माग राखेको थियो। उक्त संशोधन प्रस्तावले मेयर मीना लामाको अधिकार कटौती गर्न खोजेको देखिएपछि मेयर लामासहित अन्य जनप्रतिनिधिले असहमति जनाएका थिए।

आफूले प्रस्ताव गरेको कुरामा सहमति नजनाएपछि असन्तुष्ट एमालेको बहुमत सदस्य बैठकबाट बाहिरिएको हो। एमालेले संशोधन गर्न गरेको प्रस्तावमा बैठकको निर्णय सामान्यतया सर्वसम्मतिबाट हुने भएपनि मत विभाजन हुने अवस्थामा बैठकमा बहुमत सदस्यको निर्णय बैठकको निर्णय मानिनुपर्ने उल्लेख गरेको छ।

एमालेले बैठक बहिष्कार गरेपछि हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकाले अल्पमतमै आगामी आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम तथा बजेट नगर सभामा पेश गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार बैठकमा उपस्थित कार्यपालिका सदस्यहरुले बैठक छाडेर गएपछि आगामी आर्थिक वर्ष २०७९/८० को नीति, कार्यक्रम तथा बजेटको मस्यौदा छलफल गरी असार १० गते नगरप्रमुख लामाले नगर परिषदमा पेश गर्ने निर्णय भएको हो।

यता एमालेले भने नीति तथा कार्यक्रम र बजेट प्रक्रिया अनुरुप नल्याएकाेले बैठक बहिष्कार गरेको जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.