|

काठमाडौं :  पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुले घोषणा गरेका सम्पूर्ण कार्यक्रम स्थागित गरेको छ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आज शनिबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् विज्ञप्ति जारी गर्दै अनेरास्ववियुको निरन्तरको खबरदारीपछि सरकारले आफ्नो कम सच्याएको भन्दै अब सो विषयमा निर्धारण गरिएका विरोध कार्यक्रमहरू रद्द भएको जानकारी गराएकी हुन्।

'आन्दोलनको क्रममा घाइते हुनु भएका सम्पुर्ण कमरेडहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ र आन्दोलनमा साथ र ऐक्यबद्धता जनाउनु हुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं', जारी विज्ञप्तिमा भनिएको छ, 'पेट्रोलियम पदार्थमा मुल्य घटाउने सन्दर्भ सकरात्मक छ। यसको दीर्घकालीन समाधान खोज्नु जरुरी छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै अति आवश्यक वस्तु र सार्वजनिक यातायातको भाडा पनि निरन्तर बढिरहेको छ। तर पटक-पटकको पेट्रोलियम पदार्थ मूल्यवृद्धिले अन्य क्षेत्रमा पारेको असर र बढ्दो महँगी नियन्त्रण गर्न सरकार असफल भई सकेको अवस्थामा हामीले निरन्तर खबरदारी गर्नु पर्ने देखिन्छ।'

सरकार निश्चित व्यापारी घरानालाई पोस्न नीतिगत भ्रष्टाचारमा व्यस्त रहेको जारी विज्ञप्तिमार्फत आरोप लगाइएको छ।  'आज महङ्गीले जनताको चुलो नबल्ने अवस्था छ, तसर्थ सरकारलाई आफ्ना मातहतका निकाय परिचालन गरेर बजार अनुगमनलाई चुस्त पर्न र बढ्दो महँङ्गीलाई नियन्त्रणमा लिन जोडदार माग गर्दछौं। अन्यथा अनेरास्ववियु जनताको जनजीविकाको पक्षमा सडकमा उत्रने चेतावनी दिन चाहन्छ', विज्ञप्तिमा भनिएको छ।

सरकारले शनिबार  पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ कर कटौती गर्दै मूल्य घटाएको हो।  घटाइएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ। 

अब पेट्रोल प्रतिलिटर १ सय ७९ र डिजेल १ सय ६३ रुपैयाँ पुगेको छ। यसअघि आजै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले महँगी नियन्त्रणका लागि पेट्रोलियमको मूल्य घटाउन सरकारलाई निर्देशन दिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.