छाडा पशुलाई मुस्ताङ पठाउने तयारी

|

बेनी : म्याग्दीको बेनी नगरपालिकाले सदरमुकाम बेनी बजारमा छाडा छोडिएका पशुचौपायालाई व्यवस्थापन गर्ने भएको छ। बजारमा छाडा छोडिएका गाई, गोरु, बाच्छाबाच्छीलाई चरन क्षेत्र वा गौशालामा व्यवस्थापन गर्ने कार्य शुरु गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए।

नगरपालिकाले विज्ञप्ति जारी गरी आफ्ना घरपालुवा पशुचौपायालाई बजार क्षेत्रमा छाडा नछोड्न नगरवासीलाई अनुरोध गरेको छ। छाडा पशुचौपायालाई व्यवस्थापन गर्ने काम भइरहेकाले कसैको निजी घरपालुवा पशु पर्न गए त्यसको जिम्मेवारी नगरपालिका नहुने व्यहोरा पनि विज्ञप्तिमा उल्लेख छ।

हाल बेनी बजारमा छाडा छोडिएका २७ वटा पशु रहेको नगरप्रमुख केसीले बताए। ‘बजारमा पशु छोड्ने क्रम बढ्दै गएको छ, शनिबार मात्रै पनि २ वटा जर्सी गोरु बजारमा छोडिएको जानकारी आएको छ’, नगरप्रमुख केसीले भने ‘ती सबै पशुलाई गौशाला वा चरण क्षेत्रमा व्यवस्थापन गर्न शुरु गरेका छौँ।’

१० देखि १५ वटा गाई मुस्ताङको थासाङ गाउँपालिकाका किसानलाई दिने गरी मुस्ताङ पठाउन गाउँपालिकासँग छलफल भइरहेको केसीले बताए। ‘त्यहाँका किसानले गाईको गोबरलाई मल र दाउराको रूपमा समेत प्रयोग गर्ने गरी पालिकासँग गाईको माग भएको रहेछ, हामीले पठाउने प्रयास गरेका छौँ’। त्यसका लागि थासाङ गाउँपालिकासँग छलफल अगाडि बढाइएको छ’, नगरप्रमुख केसीले भने।

त्यस्तै शिखका एक कृषकले पनि आफ्नो घरमा पाल्नका लागि दुईवटा गाई लैजाने भएका छन्। कसैले घरमा लगेर पाल्न चाहेमा पशुको कानमा नम्बर ट्याग लगाई पठाउने तयारी गरेको नगरपालिकाले जनाएको छ।

बेनी बजारमा छाडा छोडिएका पशुचौपायाले ट्राफिक व्यवस्थापन, तरकारी तथा फलफूल व्यवसायी एवम् पैदलयात्रीलाई समेत वेला वेला सास्ती दिने गरेका छन्। छाडा पशुलाई व्यवस्थापन गर्ने कार्यमा सहयोग गर्न बजारवासीलाई नगरपालिकाले अनुरोध समेत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.