|

काठमाडौं : काठमाडौंमा हैजाका २ जना बिरामी थपिएका छन्। काठमाडौं कलंकीका २ जना पुरुषमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चुमनलाल दासले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।

उनीहरुको अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरी उपचार भइरहेको दासले बताए। आज थपिएकासहित काठमाडौंमा हैजा संक्रमित हुनेको संख्या १४ पुगेको छ। यसअघि हैजा भएर अस्पताल भर्ना भएका सबै १२ जना नै डिस्चार्ज भइसकेका दासले जानकारी दिए।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा हैजाका बिरामी बढेसँगै सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले गर्मी तथा वर्षायाम सुरु भएसँगै हैजा, झाडापखाला जस्ता रोग फैलिरहेकाले सावधानी अपनाउन आग्रह गरेको हो। मन्त्रालयले खानेपानी, खाद्य पदार्थको गुणस्तरमा ध्यान दिन र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हैजाको प्रकोप बढेकाले सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरिएको बताए। उनले प्रदूषित खानेपानीका कारण हैजा देखिएकाले पानी शुद्धीकरण गरेर र उमालेर मात्र पिउन अनुरोध गरेका छन्।

मन्त्रालयका अनुसार दूषित खानेपानीकै कारण हैजा देखिएको हाे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.